हेटौंडा, हेटौंडा उपमहानगरपालिका वडा नं. ११ निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको छ । विहीबार पत्रकार सम्मेलन गरी यही असोज १९ गते शनिबार बालमैत्री वडा घोषणा हुन लागिएको जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनमा वडा अध्यक्ष एवम् बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मुल समारोह समितिकी संयोजक जुना दाहालले बालमैत्री वडा घोषणाको लागि आवश्यक ५१ वटा सुचकहरु मध्ये ४४ वटा सुचकमा शतप्रतिशत र बाँकी सुचकमा ८० प्रतिशत भन्दा माथि नतिजा हासिल गरिसकेको जानकारी दिइन् । स्थानीय शासनयुक्त वडा घोषणा मुुल समारोह समिति संयोजक समेत रहेको उनले बालमैत्री स्थानीय शासन वडा घोषणा गर्नका लागि पूरा गर्नुपर्ने ५१ वटा सुुचकमध्ये ४४ वटा सूचकहरु १०० प्रतिशत, १ वटा सूचक ९९ प्रतिशत, १ वटा सूचक ९७, १ वटा ९५, १ वटा ९०, १ वटा ८१ र १ वटा ८० प्रतिशतसम्म नतिजा हासिल गरेको बताइन् ।
उक्त दिन स्थानीय सामुदायिक एवम् संस्थागत विद्यालयका विद्यार्थीहरु, विभिन्न टोलविकास संस्थाका सदस्यहरु, विभिन्न संघ–संस्थाको प्रतिनिधिहरुको सहभागितामा प्रभातफेरीसहित औपचारिक कार्यक्रम हुने वडाध्यक्ष दाहालले बताइन् ।
पछिल्लो समय हेटौंडा उपमहानगरपालिकामा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा क्रम बढ्दो छ । यसअघि हेटौंडा–२, ४, ७, ८, १०, १७, १५ नम्वर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भइसकेको छ ।






