कैलाश/ तामाङ समुदायको नयाँ वर्ष अर्थात सोनाम ल्होछारको अवसरमा कैलाश गाउँपालिका वडा नम्बर २ मा रहेको डाँफेमुनाल पार्क बैकुण्ठमा पर्यटन प्रबर्धन गर्ने उद्देश्यले आइतबार ल्होछार साँस्कृतिक मेला आयोजना गरिएको छ ।
मेलाको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले उद्घाटन गरेका थिए ।
मेला उद्घाटन गर्दै अध्यक्ष मोक्तानले ग्रामिण पर्यटनको विकास, स्थानीय तामाङ समुदायको सँस्कृतिको जगेर्ना, भाषा, भेषभुसा र कलाको संरक्षणमा मद्दत पुर्याउने विश्वास व्यक्त गरे । यस्तै डाँफेमुनाल पार्कलाई अझ आकर्षक पर्यटकिय केन्द्रको रूपमा विकास गरिने बताए । मेला उद्घाटन समारोहमा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले कैलाशको पर्यटन विकासका लागि मनहरी गाउँपालिकाले सहकार्य गर्ने बताए । यस्तै धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष विवेक थपलियाले कैलाशको पर्यटकिय क्षेत्रलाई मद्दत पुग्नेगरि आफ्नो पालिकामा पर्यटकिय क्षेत्र बनाउनका लागि एक करोड रूपैंया विनियोजन गर्ने बताए ।
वडा नम्वर २ का अध्यक्ष राजेन्द्र घिसिङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कैलाश गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल, वडाध्यक्षहरु तेजबहादुर ब्लोन, उदासकुमार भ्लोन, सुर्यबहादुर ब्लोन, भुवनसिं घलान, देवलाल बल लगायतको उपस्थिति रहेको थियो । मेलाकै अवसरमा भाईरल पिङको उद्घाटन समेत गरिएको थियो । कैलाश गाउँपालिकाको आर्थिक सहयोगमा डाँफेमुनाल पार्कमा १५ लाख रूपैंयाको लागतमा पिङ निर्माण गरिएको थियो ।
साँस्कृतिक मेलामा गायिकाहरू रजनी लामा, प्रतिमा अर्याल, सुमन थापा मगर, लोक गायक रामकुमार नेपाली, श्याम राना, सेलो गायक योगेश लामाले प्रस्तुति दिएका थिए । यसैगरि कलाकार राजुमान रूम्बाले क्यारिकेचर प्रस्तुत गरेका थिए । मेलामा स्थानीय तामाङ समुदायको संस्कार र सँस्कृतिसँग सम्बन्धित लामा, बोम्बो, लब्तावा लगायतका झाँकिहरुको प्रस्तुती समेत गरिएको थियो ।
तामाङ समुदायको सबैभन्दा ठुलो सांस्कृतिक पर्व २८५९औँ सोनाम ल्होछार २०७९ ह्योई ल्हो ९बिरालो वर्ग०को अवसरमा तामाङ समुदायको बाहुल्यता रहेको बैकुण्ठमा पहिलो पटक मेला भएको हो । यस वर्ष बाघ वर्षलाई बिदाइ गर्दै बिरालो वर्षलाई स्वागत गर्दै ल्होछार मनाइएको छ ।






