हेटौंडा, फुटबल खेलाडीको उर्वर भुमीको रुपमा रहेको हेटौंडामा फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यसहित एकेडेमी सञ्चालन हुने भएको छ । खेलकुदको विकास एवम् सम्बद्र्धनमा विभिन्न कार्य गर्दै आएको उपमहानगरपालिकाले फुटबल एकेडेमी सञ्चालन गर्ने भएको हो ।
उपमहानगरपालिकाले ‘हेटौंडा उपमहानगरपालिका फुटबल एकेडेमी तथा प्रशिक्षण केन्द्र सञ्चालन कार्यविधि–२०७९’ स्वीकृत गरेको छ । कार्यविधि स्वीकृत भएसँगै नगरमा खेलाडी उत्पादनका लागि एकेडेमी सञ्चालनको बाटो खुलेको छ । स्थानीय तहबाटै खेलाडी उत्पादनलाई प्राथमिकता दिदै हेटौंडा उपमहानगरपालिकाको १३ औं कार्यपालिका बैठकले कार्यविधी स्विकृत गरेको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामाले बताइन् । कार्यविधि स्विकृतीसँगै उपमहानगरपालिकामा आवासीय सुबिधा सहित खेलाडी उत्पादनका लागि एकेडेमी सञ्चालन गर्ने बाटो खुलेको छ ।
कार्यविधि अनुसार उपमहानगरको १९ वटै वडामा रहेका १२ देखी १४ वर्ष उमेर समूहका महिला तथा पुरुष खेलाडीमध्ये अब्बललाई छनौंट गरी एकेडेमीमा राखिनेछ । पारित कार्यविधि अनुसार उपमहानगर क्षेत्रका हरेक वडाबाट १/१ जना महिला तथा पुरुष र यसै क्षेत्रका अब्बल खेलाडी सहित ४५ जनालाई ‘क्लोज क्याम्प’ मा राखेर नियमित प्रशिक्षण सहित आवास, खाना, शिक्षा र स्वास्थ्य उपचारको सुविधा राखेर एकेडेमी सञ्चालन गरिने उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए ।
एकेडेमीमा नगरका ४५ जना महिला तथा पुरुष खेलाडीलाई आवासीय सुविधासहित प्रशिक्षण गराउनका लागि उपमहानगरपालिकाले चालु आर्थिक बर्ष २०७९÷०८० का लागि ७५ लाख रुपैयाँ रकम विनियोजन गरेको छ । कार्यविधि अनुसार मकवानपुर जिल्ला फुटबल संघसँगको सहकार्यमा उपहानगरपालिकाका मेयर मीनाकुमारी लामा संरक्षक रहेको एकेडेमी तथा प्रशिक्षण केन्द्र सञ्चालन र अनुगमन समितिले एकेडेमीको कामलाई निगरानी तथा सुधारका लागि निर्देशन दिनेछ। कार्यविधि पास भएसँगै अब जिल्ला फुटबल संघ मकवानपुरसंग फुटबल एकेडेमी सञ्चालनका लागि औपचारिक सम्झौताको काम अघि बढाउने तयारीमा उपमहानपालिका रहेको प्रवक्ता न्यौपानेले बताए ।
एकेडेमीबाट नयाँ खेलाडी उत्पादन हुने विश्वास गरिएको छ । उपमहानगरपालिकाले जिल्ला फुटबल संघले आयोजना गर्दै आएको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको लागि समेत महत्वपूर्ण सहयोग पु¥याउँदै आएको छ ।






