हेटौंडा, नेपाली कांग्रेस मकवानपुरले कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको आठौं स्मृति दिवस मनाएको छ । हटौंडा उपमहानगरपालिका–२ स्थित वीपी स्मृति भवनमा कोइरालाको फोटोमा माल्यार्पण गर्दै स्मृति दिवस मनाएको हो ।
कार्यक्रममा कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, उपसभापति आनन्दराम कठायत, निवर्तमान कार्यवाहक सभापति विष्णुप्रसाद लामिछाने, पूर्व जिल्ला सभापति माइकल रामचन्द्र आर्याल, जिल्ला सचिव भीमसेन महत, सहसचिवद्वय इन्दिरा न्यौपाने र ताराचन्द्र बजागाइँ ‘निशान’, अनुशासन समितिका संयोजक प्रभात दाहाल, प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सभापति दामोदर खनाल, नेवि संघका अध्यक्ष राजु खतिवडा, तरुण दल मकवानपुरका सचिव सचित थापा लगायतले स्व. कोइरालाको फोटोमा पुष्पगुच्छा चढाएर सम्मान व्यक्त गरेका थिए ।
कोइरालाको २०७२ माघ २६ गते निधन भएको थियो । उनी २०६७ भदौ २५ मा नेपाली कांग्रेसको सभापति बनेका थिए । पार्टी सभापति रहेकै बेला उनको निधन भएको थियो । २०७० साल माघ २७ गते देशका ३७ औं प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका कोइरालाले २०७२ असोज २३ गते पदबाट राजीनामा दिएका थिए । उनको कार्यकालममा देशले नयाँ संविधान पाएको थियो । उनलाई नेपाली राजनीतिमा सादगी र निष्ठावान नेता मानिन्छ ।







