अन्तर विद्यालय क्रिकेट प्रतियोगिता : आधुनिकका प्रिन्स यादवको शतक प्रहार

हेटौंडा, हेटौंडाको हुप्राचौरमा जारी स्वर्गीय निरज श्रेष्ठ स्मृति दोस्रो विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका प्रिन्स यादवले शतक प्रहार गरेका छन् । प्रतियोगितामा पहिलो शतक प्रहार गर्ने यादव पहिलो खेलाडी हुन् । बुधबार ज्ञानोदय बालबाटिका आवासिय माध्यमिक विद्यालयसँग भएको प्रतियोगितामा ५२ बलको सामना गर्दै यादवले ११६ रन बनाए । प्रतियोगितामा आशिक अधिकारीले ३२ बलको सामना गर्दै ५४ रन बनाए । १५ ओभर खेल्दै ३ विकेटको नोक्सानीमा आधुनिकले २०४ रनको विशाल योगफल तयार पार्यो ।

ADVERTISEMENT

२०५ रनको लक्ष्य पाएको ज्ञानोदय १० दशमलव ३ ओभरमा अलआउट हुँदै ५१ रन बनायो । ज्ञानोदयका नाशिर हुसेनले १४ रन बनाए । प्रतियोगितामा आधुनिक १५३ रनले विजयी भयो । खेलको म्यान अफ द म्याच आधुनिकका प्रिन्स यादव घोषित भए ।
प्रतियोगितामा लगातार दुई खेलमा विजयी भएको नवोदय शिशु सदन विद्यालय बुधबार सिद्धार्थ शिशु सदन विद्यालयसँग स्तब्ध बन्यो । नवोदयलाई ५ विकेटले पराजित गर्दै सिद्धार्थ विजयी बन्यो । शुरुमा ब्याटिङको निम्तो पाएको नवोदय ११ दशमलव २ ओभरमा अल आउट हुँदै ४४ रन बनायो । नवोदयका कुनै पनि ब्याट्सम्यानले अंक बुटल्न सकेनन् । नवोदयलाई सस्तैमा समेट्नको लागि सिद्धार्थका सुलभ झाले ३ विकेट, बिनोद शाह र नयन स्याङबोले समान २ ीवकेट लिए । जवाफ ब्याटिङको लागि मैदान उत्रेको सिद्धार्थ ९ दशमलव २ ओभरमा ५ विकेटको नोक्सानीमा लक्ष्य भेटायो । सिद्धार्थका बिनित राओ १४ रन र शिवम यादव १० रन बनाए । नवोदयका रोनश उप्रेती, राज खतिवडा, अर्वात भट्टराई, निकेश श्रीवास्तवले समान १ विकेट लिए । प्रतियोगितामा सिद्धार्थका सुलभ झा म्यान अफ द म्याच घोषित भए ।

बुधबार भएको तेस्रो खेलमा तुल्सी मेहर मेमोरियल विद्यालयलाई ३५ रनले पराजित गर्दै जीएस निकेतन विजयी भएको छ । शुरूमा ब्याटिङ गर्न मैदान उत्रेको जीएस निकेतन विद्यालय १२ दशमलव ५ ओभरमा अल आउट हुँदै ९७ रन बनायो । जिएसका लागि समिर यादवले ३१ रन, प्रिन्सु यादवले १६ रन बनाए । तुल्सी मेहरको तर्फबाट निराजन यादवले ४ विकेट र विशाल शाहले २ विकेट लिए ।

जवाफी ब्याटिङको लागि मैदान उत्रेको तुल्सी मेहर मेमोरियल विद्यालय ११ दशमलव ३ ओभरमा अल आउट हुँदै ६१ रन बनायो । तुल्सी मेहरका लागि लक्की त्रिपाठीले ३४ रन बनाए भने अन्य खेलाडीले रन बटुल्न सकेनन् । जीएसका अनिश यादव, जिवन श्रेष्ठ र सुमार्ग भण्डारीले समान २ विकेट लिए । प्रतियोगितामा तुल्सी मेहरका निराजन यादव म्यान अफ द म्याच घोषित भए । मकवानपुर जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा १३ वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेता टिमले ४० हजार रुपैयाँ र उपविजेता टिमले २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *