हेटौंडा, ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित विविध कार्यक्रम अन्तर्गत आइतबार मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग गरिएको छ । मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघको आयोजनामा मानवसेवा आश्रमलाई चामल, तेल, फलफूल, मिठाई लगायतका सामग्री सहयोग गरिएको हो ।
आश्रमका अध्यक्ष रामजी अधिकारीलाई एक कार्यक्रमकाबीच खाद्यान्न हस्तान्तरण गरिएको हो । बागमती प्रदेश सहकारी विभागका रजिष्ट्रार नारायणप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यता एवम् बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बागमती प्रदेश सहकारी बोर्डका अध्यक्ष एवम् सहकारी दिवस मूल आयोजक समितिका संयोजक नारायणप्रसाद देवकोटा, बागमती प्रदेश दुग्ध विकास बोर्ड सदस्य बासुदेव अधिकारी, राष्ट्रिय सहकारी बैंक हेटौडा शाखा प्रमुख रामेश्वर अर्याल, जिल्ला बचत तथा ऋण सहकारी संघ अध्यक्ष कल्पना श्रेष्ठ, जिल्ला दुग्ध उत्पादक सहकारी संघ अध्यक्ष हरि कँडेल लगायतको उपस्थिति रहेको थियो । हाल आश्रममा २ सय जनाले आश्रय लिइरहेका छन् ।







