हेटौंडा, ए डिभिजन क्लव न्यूरोड टिम एनआरटीलाई निराश बनाउँदै वीरगञ्ज युनाइटेड हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा एनआरटी पहिलो खेलमै पराजित भएको हो ।
एनआरटीले २३ औं मिनेटमै दिपेश आले मगरको गोलमार्फत खेलमा अग्रता लिएको थियो । कृतिसरत्न छुन्जुको प्रहारमा रिबाउण्ड आएको बललाई मगरले गोलमा परिणत गरेको हो । २९ औं मिनेटमा वीरगञ्जका विवेक चौधरीले बराबरी गोल फर्काए । ५० औं मिनेटमा कृपा चौधरीले फ्रिकिक मार्फत उत्कृष्ट गोल गर्दै वीरगञ्जलाई अग्रता दिलाए । एनआरटीका डिफेण्डरले वीरगञ्जका खेलाडीलाई लडाएपछि प्राप्त फ्रिकिकलाई उनले सिधै गोलमा परिणत गरेका हुन् । ७४ औं मिनेटमा कृपाले नै वीरगञ्जका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे ।
रिबाउण्ड बललाई नियन्त्रणमा लिँदै उनले सहजै गोल गरेका हुन् । ७८ औं मिनेटमा एनआरटीका लालनुन जामाले गोल गर्दै अग्रता घटाएपनि आफ्नो टिमलाई हारबाट जोगाउन सकेनन् । २८ औं मिनेटमा वीरगञ्जका गोलरक्षक प्रमिजय गच्छदार अघि बढेको अवस्थामा एनआरटीका कृतिसरत्नको प्रहार पोष्टबाट थोरै बाहिरियो । ४२ औं मिनेटमा जामाको प्रहार पोष्टमा लाग्दा एनआरटी अभागी बन्यो । ८३ औं मिनेटमा एनआरटीले बराबरी गर्ने मौका खेर फाल्यो । लालनुन जामाको प्रहारलाई गोलरक्षक गच्छदारले सहजै नियन्त्रणमा लिए । खेलमा दुई गोल गरेका वीरगञ्जका कृपा चौधरी नै खेलको म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
जारी प्रतियोगितामा मंगलबार हिमालयन शेर्पा क्लवले सर्लाहीको बागमती युवा क्लवसँग खेल्नेछ । सातवटा ए डिभिजन, एउटा विदेशी तथा ४ वटा मोफसलका गरी १२ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले १५ र उपविजेताले १० लाख रुपैया“ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई रोयल इन्फिल्ड (बुलेट बाइक) को व्यवस्था गरिएको छ भने विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।







