हेटौंडा, मनाङ मर्स्याङ्दी क्लब हेटौंडामा जारी पाँचौं संस्करणको स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइलनमा सशस्त्र प्रहरीको (एपीएफ) क्लबलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । मनाङले फाइनलमा हिमालयन शेर्पा र एभिनियर एफसी क्यामरुनवीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
मनाङलाइ अन्तिम दुईमा पुर्याउन टाइब्रेकरमा सरोज योञ्जन, विसन गुरुङ, सैजामोल हेडविनसन र आशिष गुरुङले गोल गरेका थिए । पराजित सशस्त्रको तर्फबाट नवीन लामा र सुदिप सिख्रकारले मात्र गोल गरे । एपीएफका सनी श्रेष्ठको प्रहार गोलपोष्टको बारमा लागेर फर्किदा दीपेश धिमालको प्रहार मनाङका गोलरक्षक दीप कार्कीले बचाएका थिए । गोलरक्षक कार्की म्यान अफ दी म्याच घोषितहुँदै नगद १० हजार रुपैयाँ प्राप्त गरे । १२ टिमले सहभागीता जनाएको प्रतियोगिताको फाइनल फागुन १० गते हुने छ ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट मोटरसाइकल) तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।







