नगरस्तरीय बास्केटबल प्रतियोगिताको उपाधि नवोदयलाई

हेटौँडा, हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयको आयोजनामा भएको नगरस्तरीय बास्केटबल प्रतियोगिताको उपाधि नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले जितेको छ।

ADVERTISEMENT

आज सम्पन्न फाइनल खेलमा नवोदयले कमाने एकेडेमीलाई ४३–३९ अङ्कले पराजित गर्दै उपाधि हात पारेको हो। गत वर्ष पनि फाइनल खेलमा कमाने एकेडेमी नवोदयसँग पराजित भएको थियो। प्रतियोगितामा कमाने एकेडेमीका सुमन श्रेष्ठ टुर्नामेन्टका उत्कृष्ट खेलाडी घोषित भए। प्रतियोगितामा हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र रहेका नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालय, सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी, माउन्ट एभरेष्ट इङ्लिस सेकेन्डरी विद्यालय र कमाने एकेडेमीको सहभागिता रहेको थियो।

शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा–४ को समन्वय तथा नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालय हेटौँडा–४ को व्यवस्थापनमा दुई दिनसम्म प्रतियोगिता सञ्चालन गरिएको थियो। हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयद्वारा तेस्रो खेलकुद महोत्सवअन्तर्गत आयोजित प्रतियोगितामा विजयी टिमलाई फागुन ७ गते एक कार्यक्रमबीच पुरस्कार वितरण गरिने वडा अध्यक्ष नवीन सिग्देलले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *