प्रोलास सिन्धुलीयलाई ‘भैरव स्मृति सम्मान’

हेटौँडा, यस वर्षको ‘भैरव स्मृति सम्मान’ हास्यव्यङ्ग्यकार प्रोलास सिन्धुलीयलाई प्रदान गरिने भएको छ। मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरले वरिष्ठ हास्यव्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा हरेक वर्ष हास्यव्यङ्ग्य क्षेत्रमा योगदान पुर्‍याउने एक जना स्रष्टालाई सम्मान गर्दै आएको छ।

ADVERTISEMENT

उक्त सम्मानका लागि आवश्यक रकम व्यवस्थापन गर्न भैरव अर्यालका सुपुत्र दीपक अर्यालले अक्षयकोष स्थापना गरेका हुन्। उक्त सम्मानको राशी नगद २१ हजार १ सय ११ रुपैयाँ रहेको छ । आगामी बैशाख १२ गते प्रदान गरिने साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाले जानकारी दिए। साहित्य संगमले ‘सङ्गम साहित्य उत्सव–२०८३’ आयोजना गर्दै ३६६औँ नियमित साहित्य सन्ध्या, स्रष्टा सम्मान, बहस तथा रचना वाचन कार्यक्रम समेत सञ्चालन गर्नेछ। कार्यक्रममा विभिन्न साहित्यिक सम्मानहरू पनि प्रदान गरिनेछ।

नगद १५ हजार ५ सय ५५ रुपैयाँ राशीको ‘मकवानपुर साहित्यश्री सम्मान’ श्यामकुमार बानियाँलाई, ११ हजार १ सय ११ रुपैयाँ राशीको ‘विनोद–सुनिता सुवेदी साहित्य सम्मान’ श्याम श्रेष्ठलाई, र १० हजार रुपैयाँ राशीको ‘मुक्ति–तारा साहित्य सम्मान’ दिनेश शर्मालाई प्रदान गरिनेछ। त्यसैगरी, १५ हजार ५ सय ५५ रुपैयाँ राशीको ‘पारिजात स्मृति साहित्य सम्मान’ स्नेह सायमीलाई, सोही राशीको ‘भेषनाथ अधिकारी स्मृति साहित्य सम्मान’ नरेन्द्र पराजुलीलाई तथा १० हजार रुपैयाँ राशीको ‘मङ्गलादेवी श्रेष्ठ स्मृति नारी सम्मान’ कल्पना पौडेल ‘जिज्ञासु’लाई प्रदान गरिनेछ।

ADVERTISEMENT

अध्यक्ष बर्तौलाका अनुसार बैशाख ११ गते साँझ ६ बजे गजल मेहफिल आयोजना गरिनेछ भने बैशाख १२ गते सम्मान समर्पण, बहस, बहुभाषिक कवि गोष्ठी, मुक्तक वाचन तथा मकवानपुरबाट २०८२ सालमा प्रकाशित कृतिका स्रष्टाहरूलाई सम्मान गर्ने कार्यक्रमसहित ‘सङ्गम साहित्य उत्सव–२०८३’ सम्पन्न हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *