हेटौंडा, मकवानपुर प्रहरीले ठूलो परिमाणको अवैध लागूऔषध गाँजा र चरेश तथा हतियारसहित ५ जनालाई पक्रेको छ । जिल्लाको कैलाश गाउँपालिका–६ दुम्सीखर्कमा रहेको ७६ वर्षका जितबहादुर मोक्तानको गोठबाट १५ क्विन्टल १५ किलो गाँजा तथा १३ किलो चरेश फेला पारेको हो ।
विशेष सूचनाको आधारमा मोक्तानको घर र गोठमा खानतलासीको क्रममा गाँजा र चरेशसँगै एकथान भरुवा बन्दुक, एकथान कटुवा पेस्तोल र म्याग्जिन सहित ६ राउण्ड गोली फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (प्रहरी उपरीक्षक) बामदेव गौमतले जानकारी दिए । प्रहरीले जितबहादुर मोक्तानसहित स्थानीय २८ वर्षीय विजय मोक्तान, ४० वर्षका रत्न घले, २२ वर्षका अशोक घले, २२ वर्षकै शिखर घलेलाई पक्रेको छ ।
‘कैलाश ६ का जितबहादुर मोक्तानको गोठबाट एकहजार ५१५ किलो गाँजा, १३ किलो चरेश, एकथान गाँजालाई च्याप्ने काठको फर्मा, र एकथान तराजु नियन्त्रणमा लिएका छौं’, गौतमले भने, ‘यस कार्यमा संलग्न भएका ५ जनालाई समेत नियन्त्रणमा लिएका छौं ।’ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक केशरकुमार न्यौपाने, प्रहरी सहायक निरीक्षक नविनविक्रम थापा तथा ईलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी नायब निरीक्षक उमेशप्रसाद कोईरीको टोलीले उनीहरुलाई पक्रेको हो । पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक गौतमले बताए । मकवानपुरको राक्सिराङ तथा कैलाश गाउँपालिकामा लागूऔषध गाँजा, अफिम तथा चरेश उत्पादन हुँदै आएको छ ।







