हेटौँडा, हेटौँडामा जारी सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौँडा च्यालेन्ज कप फुटबल प्रतियोगितामा न्यु डाँफे युथ क्लब र रिगल हेटौंडा रिर्सोट एन्फा मकवानपुरले विजयी सुरुवात गरेको छ । हेटौँडा स्पोर्टस् एफसी मुण्डियाल क्लबको आयोजनामा हेटौँडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा बुधबार भएको पहिलो खेलमा पदमपोखरी फुटबल एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दै न्यु डाँफे युथ क्लवले विजयी सुरुवात गरेको हो ।
खेलको पहिलो हाफमा न्यु डाँफेका सरोज स्याङतानले गोल गरेका थिए । स्याङ्ताङको गोल नै प्रतियोगिताको लागि निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच डाफे युथ क्लबका गोल रक्षक शेख असरत घोषित भए ।
त्यसैगरी बुधबार भएको दोस्रो खेलमा थाहा नगरपालिकालाई ५–१ को गोल अन्तरले पराजित गर्दै रिगल हेटौंडा रिर्सोट एन्फा विजयी भएको छ । रिगल हेटौंडाको लागि अभिनास स्याङतानले २ गोल गर्न सफल भए भने रोशन ध्वोज, सुजल श्रेष्ठ र मोहित गुरुङले समान १ गोल गर्न सफल भए ।
थाहा नगरपालिकाको लागि विनिस अमात्यले सान्त्वना गोल फर्काउन सफल भए । प्रतियोगितामा रिगल हेटौंडाबाट २ गोल गर्न सफल भएका अभिनास म्यान अफ द म्याच घोषित भए । आज विहीबार पनि दुईवटा खेल सञ्चालन हुनेछ । जसमा पहिलो खेल कमाने फुटबल एकेडेमी विरुद्ध रियल स्टार क्लव र दोस्रो खेल आयोजक एफसी मुण्डियाल विरुद्ध सहिद स्मृति क्लवबीच हुनेछ ।
१४ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल मंसिर १३ गते हुनेछ । प्रतियोगिताको उपाधी–विजेता टिमले एक लाख ११ हजार एक सय ११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद ५५ हजार रुपैयाँ शहित शिल्ड मेडल तथा प्रमाण प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।






