हेटौंडा, दुईजना जिल्ला अध्यक्ष बनेपछि नेपाली कांग्रेस निकटको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा विवाद बढेको छ । कांग्रेस मकवानपुर प्रवक्ता अर्जुन चौलागाईं, नेवि संघका निर्वातमान केन्द्रीय महामन्त्री प्रभातकुमार दाहाल, निवर्तमान अध्यक्ष राजु खतिवडा लगायतका नेताहरुको उपस्थितमा भएको भनिएको भेलाबाट सुवास सापकोटालाई जिल्ला अध्यक्ष बनाइएको थियो ।
नेवि संघका जिल्ला अध्यक्ष राजु खतिवडा नेपाली कांग्रेस मकवानपुरको जिल्ला सदस्य भएपछि यो पद रिक्त रहेको थियो । यता फागुन १९ गते नेवि संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले मकवानपुरमा रिक्त रहेको भन्दै भिषण ठकुरीलाई जिल्ला अध्यक्ष पदमा नियुक्त गरेको पत्र पठाएका थिए । सुवास सापकोटाले जिल्ला कार्यसमिति नै बाँडफाँट गरिसकेका थिए । यस्तैमा कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले बुधबार विज्ञप्ती जारी गर्दै सुवास सापकोटाको नेतृत्वमा रहेको नेवि संघ नै आधिकारिक भएको जानकारी गराएपछि विवादले थप नयाँ मोड लिएको छ । नेवि संघ स्ववियु निर्वाचनको तयारीमा रहेको समयमा केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले गरेको निर्णयप्रति ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।
जिल्ला सभापति लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भिषण ठकुरी जिल्लामा नेवि संघको साधारण सदस्य समेत नरहेको र नेवि संघको कुनै गतिविधिमा संलग्न नभएको दावी गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिँदै जाँदा मकवानपुरमा नेवि संघमा देखिएको विवादले अन्य विद्यार्थी संगठनलाई फाइदा पुग्ने देखिएको छ । कांग्रेसका जिल्ला तहका नेताहरु पनि विवाद मिलाउन भन्दा पनि आफू निकटका विद्यार्थी नेताहरुलाई प्रयोग गर्नमै तल्लीन देखिएका छन् । नेवि संघका नेता कार्यकर्ताहरु अहिले दुईधारमा विभाजित भएका छन् ।







