हेटौंडा, हेटौंडामा जारी दोस्रो अन्तरपालिका जिल्लास्तरीय फुटबल प्रतियोगिताको फाइनलमा हेटौंडा उपमहानगरपालिका प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनल खेलमा भीमफेदी गाउँपालिकालाई ७–१ को गोल अन्तरले पराजित गर्दै हेटौंडा उपमहानगरपालिका फाइनल प्रवेश गरेको हो ।
हेटौंडा उपमहानगरपालिकाको तर्फबाट प्रितम स्याङबोले ह्याट्रिक गर्न सफल भए । त्यसैगरी बिनोद लामा र ऋषिराम मुक्तानले समान २/२ गोल गर्न सफल भए । भीमफेदीको लागि सविन घलेले सान्त्वना गोल गर्न सफल भए । प्रतियोगितामा ह्याट्रिक गरेका हेटौंडा उपमहानगरपालिकाको प्रितम स्याङ्बो म्यान अफ द म्याच घोषित भए । प्रतियोगिताको सेमिफाइनल खेल अन्तर्गत विहीबार मकवानपुरगढीले बागमती गाउँपालिकासँग प्रतिस्पर्धा गर्दैछ ।
गतवर्ष थाहा नगरपालिका विजेता हुँदा हेटौंडा उपमहानगरपालिका उपविजेतामा सिमित बनेको थियो । जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा मकवानपुर जिल्ला खेलकुद विकास समितिको समन्वयमा दोस्रो अन्तरपालिका पुरुष फुटबल प्रतियोगिता हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा जारी छ । चैत ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार तथा सर्वाधिक गोलकर्ता र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।







