हेटौंडा, गतवर्ष उपविजेतामा सिमित बनेको हेटौंडा उपमहानगरपालिका यो वर्ष अन्तरपालिका जिल्ला स्तरीय फुटबल प्रतियोगिताको बिजेता बनेको छ । शनिबार भएको फाइनल खेलमा मकवानपुरगढी गाउँपालिकालाई ४–० को गोल अन्तरले पराजित गर्दै दोस्रो संस्करणको उपाधी हेटौंडा उपमहानगरपालिकाले चुमेको हो ।
हेटौंडाको तर्फबाट विनोद घलान, लक्ष्मण बिडारी, सामेल सुनार र प्रितम स्याङ्बोले समान एक–एक गोल गरेका थिए ।
जितसँगै हेटौंडाले नगद २ लाख रुपैयाँ र उपविजेता मकवानपुरगढीले नगद १ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । खेलको म्यान अफ द म्याच सामेल सुनार घोषित भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हेटौंडाका सामेल सुनार घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
गोलरक्षक हेटौंडाका गोपी बर्तौला, डिफेन्डर धिरज भ्लोन, मिडफिल्डर प्रितम स्याङ्बो, फरवाड सागर कटुवाल र प्रशिक्षक विजयलाल श्रेष्ठ घोषित भए । विधागत उत्कृष्ट सबैले नगद ५ हजार रुपैयाँ प्राप्त गरे । सेमिफाइनल खेलमा बागमती गाउँपालिकालाई ट्राइबेकरमा ५–४ को गोल अन्तरले पराजित गर्दै मकवानपुरगढी फाइनल प्रवेश गरेको थियो भने भीमफेदी गाउँपालिकालाई ७–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै हेटौंडा उपमहानगरपालिका फाइनल प्रवेश गरेको थियो ।
जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा मकवानपुर जिल्ला खेलकुद विकास समितिको समन्वयमा भएको दोस्रो अन्तरपालिका पुरुष फुटबल प्रतियोगितामा जिल्लाको स्थानीय तहहरुको सहभागिता रहेको थियो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान, नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँ, हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँ, मकवानपुरगढी गाउँपालिका अध्यक्ष दावादोर्जे लामा, हेटौंडा १ नम्वर वडा अध्यक्ष सविन न्योपानेलगायतको आतिथ्यता रहेको थियो ।






