हेटौँडा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश अधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रिया स्थगित गरिएको छ। निर्वाचन समिति संयोजक सुमित्रा पण्डितले हालका लागि निर्वाचन कार्यक्रम स्थगित गरिएको जानकारी दिएकी छन्।
मतदाता नामावलीसम्बन्धी विवाद उत्पन्न भएपछि निर्वाचन प्रक्रिया रोकिएको हो। संयोजक पण्डितका अनुसार २४ घण्टाभित्र अर्को सूचना जारी गरी आगामी कार्यतालिकाबारे जानकारी गराइनेछ।
निर्वाचन प्रक्रिया स्थगित भएसँगै अधिवेशनस्थल सुनसान बनेको छ। प्रहरी प्रशासनले अधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई निर्वाचन प्रक्रिया तत्काल सञ्चालन नहुने जानकारी दिँदै स्थल खाली गराएको थियो।
निर्वाचन समितिले मंगलबार हस्तलिखित तथा अव्यवस्थित मतदाता नामावली सार्वजनिक गरेको थियो। नामावली प्रकाशनलगत्तै त्यसबारे प्रश्न उठे पनि समितिले उम्मेदवारी दर्ता प्रक्रिया अघि बढाएको थियो। त्यसपछि मतदाता सूची, प्रतिनिधिको वैधानिकता तथा व्यवस्थापकीय पक्षबारे व्यापक विवाद देखिएको थियो।
अधिवेशनमा सहभागी प्रतिनिधिमध्ये करिब ४ सय जनाविरुद्ध उजुरी परेको निर्वाचन समितिले जनाएको छ। विशेषगरी पार्टी समायोजन प्रक्रियामार्फत आएका सदस्यबाट चयन भएका प्रतिनिधिहरूको विषयमा विवाद उत्पन्न भएको बताइएको छ।
बुधबार बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु गर्ने कार्यतालिका रहे पनि विवाद समाधान हुन नसक्दा निर्धारित समयमा मतदान हुन सकेन। मतदान नहुने निश्चित भएपछि धेरै प्रतिनिधि घर फर्किन थालेका थिए।
निर्वाचन समितिका अनुसार मतपत्रमा देखिएका त्रुटि सच्याउन, समायोजनबाट आएका प्रतिनिधिसम्बन्धी विवाद समाधान गर्न तथा निर्वाचन व्यवस्थापनलाई व्यवस्थित बनाउन निर्वाचन प्रक्रिया स्थगित गर्नुपरेको हो।
अधिवेशनका लागि १ हजार ३ सयभन्दा बढी प्रतिनिधि छनोट भएका थिए। प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएपछि मतदान मिति र समयबारे कम्तीमा २४ घण्टा अगावै सूचना जारी गरिने निर्वाचन समितिले जनाएको छ।






