मनहरी गाउँपालिकाले सुरु गर्‍यो किसानको बाली बीमा कार्यक्रम

हेटौँडा, मनहरी गाउँपालिकाले किसानको अन्नबाली सुरक्षाका लागि बाली बीमा कार्यक्रम सुरु गरेको छ। बुधबार मनहरी गाउँपालिका–७ स्थित किसान सेतेलाल जिम्बाको १९ कठ्ठा खेतमा लगाइएको धानबालीको बीमा गर्दै कार्यक्रमको औपचारिक सुरुवात गरिएको हो।

ADVERTISEMENT

बाली बीमा कार्यक्रम गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी मगरलगायतको उपस्थितिमा शुभारम्भ गरिएको हो। कार्यक्रमअन्तर्गत हाल धानबालीको बीमा थालिएको छ भने सिजन अनुसारका अन्य अन्नबाली र तरकारीबाली पनि क्रमशः बीमाको दायरामा ल्याइने गाउँपालिका अध्यक्ष कालाखेतीले जानकारी दिए। “बर्सेनि अन्नबालीमा किरा र रोगको प्रकोप, असिनापानी वा अन्य प्राकृतिक विपत्तिका कारण उत्पादनमा ह्रास आउँछ। यस्तो अवस्थामा किसानले भोग्नुपर्ने आर्थिक नोक्सानीको क्षतिपूर्ति दिलाउने उद्देश्यले बाली बीमा कार्यक्रम सुरु गरेका हौं,” उनले भने।

बाली बीमा कार्यक्रम कार्यान्वयनका लागि गाउँपालिकाले शिखर इन्स्योरेन्स कम्पनीसँग सम्झौता गरी बीमा प्रक्रिया अघि बढाएको छ। बीमा गराउन इच्छुक किसानका लागि एक साताअघि नै गाउँपालिकाले सूचना प्रकाशन गरेको थियो। कार्यक्रम गाउँपालिकाका सबै वडामा विस्तार गरिनेछ।

बाली बीमाका लागि कुल बीमाङ्कको ८० प्रतिशत रकम संघीय सरकारको अनुदानमार्फत गाउँपालिकाले बेहोर्ने व्यवस्था गरिएको छ। बाँकी २० प्रतिशत रकम किसानले आफैं तिर्नुपर्नेछ। तर, विपन्न किसानका लागि सो २० प्रतिशत बीमाङ्क पनि गाउँपालिकाले नै बेहोर्ने गरी बजेट छुट्याइएको अध्यक्ष कालाखेतीले बताए।

उपाध्यक्ष सीता पुलामीले बाली बीमाबाट किसानलाई राहतको महसुस हुने विश्वास व्यक्त गरिन्। उनले रोग, किराको प्रकोप र वन्यजन्तुबाट हुने क्षतिको क्षतिपूर्ति पाउने व्यवस्था भएपछि किसानमा थप आत्मविश्वास जाग्ने बताइन्। “आगामी दिनमा अन्य अन्नबाली तथा तरकारी बालीको पनि बीमा कार्यक्रम विस्तार गरिनेछ,” उनले भनिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya