बागमती सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

हेटौँडा, बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम प्रदेशसभाले बहुमतले पारित गरेको छ। बुधबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री बहादुर सिंह लामाले उक्त नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। सभामुख भुवनकुमार पाठकले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा, उपस्थित बहुमत सांसदहरूले ‘हुन्छ’ भनी स्वीकृति दिएका थिए।

ADVERTISEMENT

बैठकमा सरकारको नीति कार्यक्रममाथि तीन जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका थिए। माओवादी केन्द्रकी सुस्पा भुजेलसहित पाँच सांसद, युवराज चौलागाई र सृजना सायजुले अलग-अलग संशोधन प्रस्ताव राखेका थिए। यस्ता सबै संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरिएका थिए।

यसअघि, जेठ १४ गते प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेका थिए। त्यसयता, तीन दिनसम्म चलेको छलफलमा ६४ जना सांसदले भाग लिएका थिए। छलफलमा सांसदहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, उत्पादन वृद्धि जस्ता नागरिकका आधारभूत आवश्यकतामा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका थिए।

उनीहरूले नीति तथा कार्यक्रम बजेटमा सन्तुलित ढंगले समावेश गर्नुपर्ने, निर्वाचन क्षेत्रको आवश्यकता अनुसार कार्यक्रम तय गर्नुपर्ने, र आर्थिक उपार्जनका कार्यक्रममार्फत नागरिकलाई सक्षम बनाउनु पर्ने सुझाव दिएका थिए।
मुख्यमन्त्री लामाले सांसदहरूको प्रश्नको जवाफ दिँदै सरकार नागरिकको हकहितका लागि लक्षित र प्रभावकारी कार्यक्रम ल्याउन प्रतिबद्ध रहेको बताए। उनले प्रदेश सरकारको एकल अधिकार क्षेत्रहरूमा बजेट केन्द्रित गरिने र भौतिक पूर्वाधार विकास, विशेष गरी पिटिएमटि सडकहरूलाई प्राथमिकता दिइने स्पष्ट गरे।

उनले सेवा प्रवाह प्रविधिमैत्री बनाउने, स्थायी प्रादेशिक संरचना निर्माणमा सरकार सक्रिय रहेको, र त्यसका लागि आवश्यक जग्गा प्राप्ति अन्तिम चरणमा पुगेको जानकारी दिए। सङ्घीय सरकारको आगामी क्याबिनेट बैठकबाट जग्गा भोगाधिकार सम्बन्धी निर्णय हुने पनि उनले जनाए।

Advertisement 5

मुख्यमन्त्री लामाले विभिन्न असान्दर्भिक नीति–नियमका कारण काम गर्न कठिनाइ भएको गुनासो गर्दै प्रदेशको समृद्धिका लागि सबै दल एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *