हेटौंडा, बागमती प्रदेशको संचार रजिष्ट्रारमा रेवती सापकोटा पुन नियुक्त भएका छन् । बागमती प्रदेश सरकार मातहतको प्रदेश सञ्चार रजिष्ट्रारको दोस्रो कार्यकालका लागि सापकोटा पुनः नियुक्त भएका हुन् । आइतबार प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले सापकोटालाई नियुक्ति पत्र हस्तान्तरण गर्दै शपथ ग्रहण गराएका छन् ।
सापकोटालाई गत चैत २८ गते बसेको मन्त्रिपरिषद् बैठकले दोस्रो कार्यकालका लागि रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको थियो । प्रदेश संचार माध्यम सम्बन्धी ऐन २०७५ को दफा ३१ बमोजिम सापकोटालाई रजिष्ट्रारमा नियुक्त गरिएको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ । शपथ ग्रहण गर्दैै सापकोटाको पहिलो कार्यकालमा केही राम्रा कामको थालनी गरिएको बताए । उनले पहिलो कार्यकालमा संचार माध्यम सम्बन्धी आवश्यक नियम, निर्देशिका तयार पार्ने कार्यमा सफलता मिलेको बताए । उनका अनुसार हालसम्म संचार रजिष्ट्रारको कार्यालयबाट ८५० जना पत्रकारले परिचय पत्र लिएका छन् भने १८४ वटा अनलाइन, ९५ वटा रेडियो, ३७ वटा टेलिभिजन रजिष्ट्रारको कार्यालयमा दर्ता भएका छन् ।
आफ्नो पहिलो कार्यका लमा संचार तथा पत्रकारिता सम्बन्धी ६ वटा पुस्तक रजिष्ट्रारको कार्यालयले प्रकाशन सम्पन्न गरिएको उनले बताए । पहिलो कार्यकालमा सञ्चार माध्यममा आवद्ध पत्रकार, प्राविधिक जनशक्ति र बजार व्यवस्थापकहरुका लागि क्षमता विकास, पुनर्ताजगी एवम् अभिमुखीकरणका कार्यक्रमहरु गरी ३०० भन्दा बढी पत्रकार, प्राविधिक जनशक्ति र बजार व्यवस्थापकहरु लाभान्वित भएको उनको भनाई छ ।
दोस्रो कार्यकालमा रजिष्ट्रारको कार्यक्षेत्र विस्तार भएकोले जिम्मेवारीसँगै पहिलो कार्यकालको अनुभवबाट आगामी दिनमा सञ्चार क्षेत्रको गुणस्तरीय विकासमा सक्दो राम्रो काम गर्ने सञ्चार रजिष्ट्रार सापकोटाले बताए ।






