हेटौंडा, २९ असार/हेटौंडा–१८ फुर्केचौरको गोरक्षनाथ माविमा स्थापना गरिएको सूचना प्रविधि प्रयोगशाला उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमकाबीच बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले प्रयोगशालाको उद्घाटन गरेकी हुन् ।

शिक्षा विकास निर्देशनालय बागमती प्रदेशको १५ लाख रुपैयाँको आर्थिक सहयोगमा विद्यालयमा सूचना प्रविधि प्रयोगशाला निर्माण गरिएको हो । प्रयोगशालामा १७ वटा डेस्कटप, ३ वटा ल्यापटप, २ वटा प्रोजेक्टर, १ थान स्मार्ट बोर्ड, १ थान इन्टिग्रेटेड सीइयु विथ प्रोजेक्टर राखिएको छ । शिक्षामा प्रविधिको प्रयोगले विद्यार्थीको सिकाई क्षमता विकास हुनुका साथै अध्ययनलाई प्रभावकारी हुने मन्त्री मोक्तानको भनाई थियो ।
प्रदेश सरकारले यस्ता प्रयोगशाला प्रदेशका सम्पूर्ण विद्यालयमा स्थापना गर्ने मोक्तानले घोषणा गरिन् । सोही अवसरमा विद्यालयमा दीर्घ सेवा गरी निवृत्त भएका शिक्षकहरु वरुणकुमार खतिवडा, सुन्दर श्रेष्ठ र योगराज खतिवडालाई सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रराज बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक पूर्णबहादुर दर्जीलगायतको आतिथ्यता रहेको थियो ।






