अनलाइनमार्फत् ठगी गर्ने ९ जना पक्राउ

हेटौंडा, अनलाइनमार्फत् ठगी गर्ने ९ जना भारतीय नागरिक पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४, पारिजातपथस्थित प्रमोद वाग्लेको घरको पाँचौँ तला भाडामा लिएर अनलाइनमार्फत् ठगी गर्ने ९ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ADVERTISEMENT

मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार, साउन २१ गते साँझ ६ बजेको समयमा वाग्लेको घरको पाँचौँ तलाको फ्ल्याट भाडामा लिई मेडि असिष्ट नामको कम्पनी मार्फत् अनलाइन ठगीको कारोबार भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरूमा भारत पटना थाना आलमगंज वडा नम्बर–५७ बस्ने वर्ष २८ को नवनित कुमार, भारत स्वाग कोल्लिएरी, बोकरो झारखण्ड बस्ने वर्ष २७ को शाहरुख खान, भारत करवा बलराम अरवल करपी बिहार बस्ने वर्ष २९ को कुन्दन कुमार, भारत कृष्ण कालोनि छोटी मुखानी हल्द्धानी नैनिताल उत्ताराखण्ड बस्ने वर्ष २६ को आशिष कब्डौला, भारत काजु बागाना रोड सुन्दर नगर, हेहल राँची झारखण्ड बस्ने वर्ष ३४ को विशाल कक्कड रहेका छन् ।

यसैगरी, भारत केशवनगर पहाडी टोल रातु रोड राँची झारखण्ड बस्ने वर्ष ३८ को लोकेशकुमार दुवे, भारत लोवर वर्दवान कम्पाउड लालपुर राँची झारखण्ड बस्ने वर्ष २९ को विकासकुमार सिंह, भारत नांगलोड वेस्टी देल्ही बस्ने वर्ष २८ को अरुणकुमार, भारत बैशाली गजियावाद उत्तर प्रदेश बस्ने वर्ष ४० को कुनाल शर्मालाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले विभिन्न कम्पनीका ल्यापटप ७ थान, राउटर ३ थान, मोबाइल १३ थान, हार्ड डिस्क १ थान, हेडफोन ४ थान, माउस २ थान, ल्यापटपका चार्जर १८ थान, वेब क्यामेरा १ थान, मेडी एसिस्ट डाइरेक्टर लेखेको स्ट्याम्प २ थान, मेडी एसिस्ट लेखेको स्ट्याम्प २ थान बरामद गरेको छ ।

२०८० फागुन १० गते हेटौंडा उपमहानगरपालिकाको कार्यालयमा भारत पुष्प बिहार जिल्ला नयाँ दिल्ली स्थायी बसोबास गर्ने द्रबिन कुमार सिंहको नाममा मेडि असिष्ट कम्पनी दर्ता गरी परामर्श सेवा प्रदान गर्ने गरी वाग्लेको घरमा फ्ल्याट भाडामा लिई सञ्चलन गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक रिजालले बताए ।

Advertisement 5

सिंहले आन्तरिक राजश्व कार्यालय हेटौंडाबाट मेडि असिष्ट कम्पनी देखाएर मानव स्वास्थ्यसम्बन्धी सेवा प्रदान गर्ने गरी पान नम्बर दर्ता गरिएको र उक्त कम्पनीमा १२ जना व्यक्तिहरूलाई काममा राखेको बुझिएको प्रहरी उपरीक्षक रिजालले बताए ।

१२ जनामध्ये ३ जना भने फरार रहेका छन् । फरार हुनेहरुमा द्रबिनकुमार सिंह, रजत शर्मा र प्रकाश रहेका छन् । सो कम्पनीमा कार्यरत व्यक्तिहरूले १८ देखि ५० हजार भारतीय रुपैयाँ नगदमा तलब बुझ्ने गरेको खुले पनि भुक्तानीको कुनै पनि अभिलेख फेला नपरेको प्रहरी उपरीक्षक सिंहले बुधबार पत्रकारसम्मेलन मार्फत् जानकारी गराए ।

भारतको राचीस्थित हेड अफिसमा मेन सर्भर राखी क्विक कल क्लाइन्ट सफ्टवेयर मार्फत् काम गर्ने गरेको खुल्न आएको र सो सफ्टवेयर मार्फत् टार्गेट ग्रुप पहिचान गरी सम्पर्क गर्ने, सम्पूर्ण विवरण भारत ट्रान्सफर गर्ने गरिएको प्रहरी उपरीक्षक रिजालले बताए ।

पक्राउ परेका उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा २४९ को उपदफा ९१०, ९२० विपरीत कसुर अपराध गरेको मुद्दा दायर गरी मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रिजालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *