सर्वोत्तम र सुन्दर सहकारी एकीकरण, अध्यक्षमा रामबहादुर बस्नेत चयन

हेटौँडा, हेटौँडा–८ स्थित सर्वोत्तम संचिती बचत तथा ऋण सहकारी संस्था र हेटौँडाको चौकीटोलस्थित सुन्दर बचत तथा ऋण सहकारी संस्था लिमिटेड एकीकरण भई ‘सर्वोत्तम सुन्दर संचिती सहकारी संस्था’ गठन गरिएको छ।

ADVERTISEMENT

दुवै संस्थाले शनिबार संयुक्त साधारणसभा आयोजना गरी सहकारी एकीकरणको औपचारिक घोषणा गरेका हुन्। सर्वोत्तमका अध्यक्ष रामबहादुर बस्नेत र सुन्दर सहकारीका अध्यक्ष शम्भु नकर्मीको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेल प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सहकारीले सदस्यबीच एउटै परिवारको भावना विकास गर्ने बताउनुभयो। उहाँले ‘सर्वोत्तम सुन्दर संचिती सहकारी’ नाम आफूले सुझाव दिएको उल्लेख गर्दै नाम अत्यन्त उपयुक्त र आकर्षक रहेको धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा सर्वोत्तम संचिती बचत तथा ऋण सहकारीका अध्यक्ष रामबहादुर बस्नेत तथा सुन्दर बचत तथा ऋण सहकारीका अध्यक्ष शम्भु नकर्मीले आ–आफ्ना संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। बस्नेतले आर्थिक सुरक्षा, खाद्य सुरक्षा तथा संस्थागत सुशासनलाई प्राथमिकतामा राखेर सहकारीले लक्ष्य निर्धारण गरेको जानकारी दिनुभयो।

ADVERTISEMENT

सुन्दर सहकारीका कोषाध्यक्ष दीपक देवकोटा र सर्वोत्तम सहकारीका व्यवस्थापक राजाराम थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सहकारीले ‘सर्वोत्तम उद्योग समूह’ स्थापना गरी उत्पादन, प्रवर्द्धन तथा बजारीकरणका क्षेत्रमा समेत काम गर्दै आएको जनाएको छ। सुन्दर सहकारीमा करिब ८ सय शेयर सदस्य आबद्ध रहेका छन् भने सर्वोत्तम सहकारीमा ३ हजार १ सय शेयर सदस्य आबद्ध रहेका छन्। कार्यक्रममा हेटौँडा उपमहानगरपालिका १ नम्वर वडाध्यक्ष सविन न्यौपाने, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरी न्यौपाने, पतंजलि योग समिति मकवानपुरका अध्यक्ष रामकृष्ण थापालगायतको आतिथ्य रहेको थियो ।

अध्यक्षमा रामबहादुर बस्नेत
एकीकरणपछि गठन भएको सर्वोत्तम सुन्दर संचिती सहकारी संस्थाको अध्यक्षमा रामबहादुर बस्नेत चयन हुनुभएको छ।

संस्थाको उपाध्यक्षमा हरिमाया ढकाल, सचिवमा रामनाथ वगाले, कोषाध्यक्षमा रेनु गुरुङ तथा सहसचिवमा विश्वनाथ ढकाल चयन हुनुभएको छ। सहकारीको सदस्यमा ऋतु विष्ट, धनकुमारी राजथला, बुद्धिप्रसाद पौडेल र राजकुमार अधिकारी चयन भएका छन्। सहकारीको लेखा समिति संयोजकमा पशुपति रिजाल तथा सदस्यहरूमा मोनिका खड्का र सम्झना कार्की चयन भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *