हेटौंडा, यही जेठ ७ गतेबाट हुने दोस्रो प्रदेश खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बागमती प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ ।
मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी बागमती प्रदेश खेलकुद विकास परिषद्ले प्रतियोगिताको तयारी अन्तिममा पुगेको जनाएको छ । यस वर्ष विभिन्न १३ वटा विधामा ७९४ पदकका लागि २ हजार ५०२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । अघिल्लो वर्ष ८ वटा विधामा प्रतिस्पर्धा भएकोमा यस वर्ष फुटबल, भलिबल, एथ्लेटिक्स, तेक्वान्दो, कराते, बक्सिङ, उजु, जुडो, क्रिकेट, रग्वी, ब्याड्मिन्टन, पौडी र आईटिएफ तेक्वान्दोको खेल सञ्चालन हुने बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिए ।
प्रतियोगिताका लागि नौ करोड ४२ लाख रुपियाँ खर्च हुने छ । प्रतियोगितामा १३ खेलका विभिन्न विधामा खेलाडीबीच प्रतिस्पर्धा छन् । यीमध्ये उसु र जुडो काठमाडौँमा, पौडी ललितपुरको सातदोबाटोमा तथा क्रिकेट चितवनमा खेलाइनेछ । फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कराँते, बक्सिङ, रग्बी, ब्याडमिन्टन र आइटिएफ तेक्वान्दोका खेल हेटौँडाका विभिन्न खेल मैदानमा खेलाइने सदस्य सचिव भण्डारीले बताए । प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेलले गर्नुहुने छ ।
प्रतियोगितामा विभिन्न विद्यामा गरी एक हजार ७५ महिला, एक हजार चार सय २७ पुरुष खेलाडी, एक सय ७३ प्रशिक्षक, एक सय ४२ व्यवस्थापक र दुई सय ७६ निर्णायकको सहभागिता रहने सदस्य सचिव भण्डारीले बताए । पत्रकार सम्मेलनमा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मुक्तानले विभिन्न खेलकुद प्रतियोगितासँगै प्रदेश सरकारले पूर्वाधार निर्माणमा जोड दिने बताइन् ।