लम्पी स्किनबाट बागमतीमा २६० पशु मरे

हेटौंडा, पछिल्लो समय पशुमा देखिएको लम्पी स्किन रोगका कारण बागमती प्रदेशमा २६० पशु मरेका छन् । लम्पीको संक्रमणबाट बुधबार सम्ममा २६० गाईहरु मरेको प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यो रोगबाट प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा बढी मकवानपुर प्रभावित भएको छ ।

ADVERTISEMENT

मकवानपुरमा हालसम्म १९७ वटा गाईहरु मरेका छन् । यस्तै सिन्धुलीमा ४७, नुवाकोटमा १०, काठमाडौंमा ४ र काभ्रेमा २ वटा गाई मरेको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए । लम्पीबाट सबैभन्दा बढी प्रभावित मकवानपुरमा ४ हजार ८३५ वटा गाईमा संक्रमण भएको छ । सिन्धुलीमा सबैभन्दा बढी गाईमा संक्रमण पुष्टि भएपनि मृत्यु भने मकवानपुरको तुलनामा कम रहेको छ ।

सिन्धुलीमा ९ हजार ६३४ वटा गाईमा संक्रमण भएको छ । यहाँ हालसम्म ४७ वटा गाई मरेका छन् । काठमाडौंमा ८३ वटा, ललितपुरमा ४० वटा, भक्तपुरमा एउटा, रामेछापमा एक हजार ९६५ वटा, काभ्रेमा ४०० वटा, नुवाकोटमा ३०० वटा, सिन्धुपाल्चोकमा ६ वटा, र चितवनमा एक हजार ६० वटा गाईमा लम्पीको संक्रमण पुष्टि भएको अधिकारीले बताए । संक्रामक विषाणुजन्य यस रोगबाट बागमती प्रदेशमा भैँसीमा खासै संक्रमण देखिएको छैन । यस प्रदेशमा अधिकांश गाईमा संक्रमण पुष्टि भएको तथ्यांकले देखाएको छ । कृषि तथा पशु्पन्छी विकास मन्त्रालय बागमती प्रदेशका सचिव शरणकुमार पाण्डेले लम्पी स्कीन रोगको संक्रमण हुँदा गाई भैँसीमा अत्याधिक ज्वरो आउने, पशु झोक्राउने, दानापानी नखाने, दुहुना गाईभैँसीको दूध घट्ने, शरीरका विभिन्न भागहरुमा गिर्खा आउने र पछि गिर्खाहरु फुटी अल्सर हुने, आँखामा कचेरा लाग्ने, नाकबाट सिँगान बग्ने, रोगी पशुलाई जीवाणुको संक्रमणले निमोनिया र थुनेलो हुने जस्ता समस्या पैदा हुने गरेको जानकारी दिए ।

ADVERTISEMENT

हालसम्म लम्पी स्कीन रोग प्रदेशको १३ मध्ये १० जिल्लामा देखिएको उनले बताए । उनका अनुसार धादिङ, दोलखा र रसुवामा लम्पी स्कीनको संक्रमण देखा परेको छैन । यद्यपी रोगको संक्रमणको दर अनुसार पशुको मृत्युदर भने कमै रहेको बताइएको छ । रोगको संक्रमणबाट पशु मुत्युदर करिब ६ प्रतिशत रहेको भएपनि दुहुना पशुहरुको दूध उत्पादनमा भने धेरै नै ह्रास आएको सचिव पाण्डेको भनाई छ । प्रदेशमा रोगको संक्रमणका कारण ८० प्रतिशतसम्म दूध उत्पादनमा ह्रास आएको छ । प्रदेशमा तीव्र रुपमा फैलिरहेको लम्पी स्किन रोगको नियन्त्रण तथा रोकथामका लागि मन्त्रालयले गाई भैँसीको स्वास्थ्य संरक्षण गर्न र दूध उत्पादनमा हुने कमीलाई न्युनीकरण गर्न विशेष कार्यक्रहरु सञ्चालन गरिरहेको मन्त्रालयले जनाएको छ । रोग नियन्त्रणका लागि खोप अभियान समेत सञ्चालन भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *