हेटौंडा उपमहानगरपालिकाको समिक्षा गोष्ठी

हेटौंडा उपमहानगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ मा भएका कामको वार्षिक समिक्षा भएको छ । समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख मिनाकुमारी लामाले उपमहानगरका जनतालाई दुःख नहुने गरी सेवा प्रदान गर्नु स्थानीय सरकारको पहिलो दायित्व भएको बताएकी छन् ।

ADVERTISEMENT

नगर प्रमुख लामाले वडा अध्यक्ष र उपमहानगरका कर्मचारीहरुलाई नगरबासीको हरेक समस्या समाधान गर्न र उनीहरुको क्षमता अभिवृद्धिमा ध्यान दिन निर्देशन दिइन् । लामाले कर्मचारीहरुलाई उपमहानगरमा काम लिएर आएका नगरबासीको कामहरु समयमै सक्नु पर्नेमा जोड दिएको उनका प्रेस सल्लाहकार राजन दाहालले बताए । उपमहानगरबाट प्रदान हुने सबै प्रकारका सेवामा गुणस्तरीय काम हुनुपर्ने लामाले बताएकी छन् । आगामी ५ वर्षसम्म कसैले पनि औंला उठाउन नसक्ने गरी सबैले काम गरेर नमुना उपमहानगरको रुपमा स्थापित हुनुपर्ने उनको भनाई छ ।

समिक्षा कार्यक्रममा सामान्य प्रशासन महाशाखा प्रमुख शान्ति विश्वकर्माले आन्तरिक प्रशासन, कानुन तथा सुशासन व्यवस्थापन, सम्पति व्यवस्थापन, राजश्व प्रशासनका क्षेत्रमा भएका प्रगति बारे जानकारी गराएका थिए । आर्थिक विकास तथा शिक्षा विकास महाशाखा प्रमसख गंगाधर रिमालले शिक्षा क्षेत्रको वित्तिय प्रगतिसँगै पशुपन्छी विकास, कृषि विकास, उद्योग, सहकारी ता पर्यटन विकास र प्रधानमन्त्री रोजगार कार्यक्रममा भएका प्रगति बारे कार्यक्रममा प्रस्तुती राखेका थिए ।

लेखा अधिकृत जेकप श्रेष्ठले आर्थिक प्रशासन महाशाखाबाट भएका काम कारबाही, महिला तथा बालबालिका विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाहरुको लक्षित कार्यक्रम बारे जानकारी दिएकी छन् । पूर्वाधार विकास महाशाखा प्रमुख इन्जिनियर सत्यनारायण साहले सहरी पूर्वाधार विकास, योजना कार्यान्वयन तथा सार्वजनिक निर्माण शाखा, भवन इजाजत तथा मापदण्ड कार्यान्वयन शाखा र भूमि इकाईबाट भएका काम कारबाही बारे जानकारी दिएका थिए ।

सामाजिक विकास महाशाखा प्रमुख भिम प्रसाद तिमल्सिनाले समाज कल्याण, आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन, विप्द प्रतिकार्य, फोहोरमैला व्यवस्थापन र वातावरण, सामाजिक सुरक्षा तथा पञ्जिकरण र न्यायिक समितितर्फको काम जानकारी गराएका थिए ।समिक्षा कार्यक्रममा उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, १ नम्बरका वडा अध्यक्ष तथा प्रवक्ता सबिन न्यौपाने तथा वडा अध्यक्षहरु विष्णुगोपाल महर्जन, सुनिल मोक्तान, ध्रुव सत्याल, रामकृष्ण कोइराला, विष्णुप्रसाद दहाल, राम थापा, सुकराम केसीलगायतको सहभागिता रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *