७० जना मोतियाबिन्दु बिरामीको निशुल्क शल्यक्रिया

हेटौंडा, मकवानपुरको विकट राक्सिराङ्ग गाउँपालिकामा मोतियाबिन्दु लागेका ७० जनाको निशुल्क शल्यक्रिया गरिएको छ । गाउँपालिकाको विभिन्न वडामा भएको आँखा शिविरबाट मोतियाबिन्दु लागेका बिरामीहरुको निशुल्क आँखाको शल्यक्रिया गरिएको हो ।

ADVERTISEMENT

चैनपुर स्थित प्रजा जागृति माध्यमिक विद्यालय परिसरमा आइतबार भएको एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष राजकुमार मल्लले मोतिबिन्दु बिरामी ९५ वर्षिया मन्जुरीमाया प्रजालाई लेन्स हस्तान्तरण गरेपछि शल्यक्रिया कार्यको सुरुवात गरिएको थियो ।

शिविरमा ५ सय ७८ जनाले आँखाको परिक्षण गरिएको थियो भने ८५ जनाको मोतियाबिन्दु फेला परेको र सम्पर्कमा आएको ७० जनाको शल्यक्रिया भएको हेटौँडा सामुदायिक आँखा अस्पतालका कार्यक्रम संयोजक डा।सुशील कुमार सिंहले जानकारी दिनुभयो । हेटौँडा आँखा अस्पतालका ११ जना विशेषज्ञ चिकित्सकहरुको सहभागितामा मोतिबिन्दुको शल्यक्रिया गरिएको कार्यक्रम संयोजक डा। सिंहले बताउनुभयो ।

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा हेटौँडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग र राक्सिराङ्ग गाउँपालिकाको व्यवस्थापनमा निशुल्क आँखा शिविर गत असार १२ देखि १५ गतेसम्म सञ्चालन भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्ट, स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख डा। खगेश्वर गेलाल, डा। नवीन दर्नाल, राक्सिराङ्ग आधारभूत अस्पतालका डाक्टर मेगनेहर श्रेष्ठ, हेटौँडा सामुदायिक आँखा अस्पतालका डा। सुशील कुमार सिंह लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *