हेटौंडा, मकवानपुर प्रहरीले गएराति भन्सार छली पैठारी गरी ल्याएको अवैध सामान बरामद गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातोमाटेबाट १० लाख ३३ हजार २४४ रुपैयाँ बराबरको सामान बरामद गरेको हो ।
गएराति ११ बजेको समयमा वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको यात्रुबाहक बसहरुलाई रोकी चेकजांच गर्ने क्रममा लुकाई छिपाई भन्सार छलि चोरी पैठारी गरी ल्याएको उक्त मूल्य बराबरको सामान बरामद भएको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीले बिल बिजक नभएको विभिन्न किसिमका कपडाहरु, जुत्ताहरु, रजनीगन्ध तुलसी लगायत खाद्यान्नहरु, मोवाईल डिस्प्ले समेत बरामद गरेको हो । प्रहरीले बरामद उक्त समानहरुलाई आवश्यक कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको जनाइएको ।







