सवारीसाधन मर्मतसम्भारमा २२ करोड खर्च

हेटौंडा/बाग्मती प्रदेशको हालसम्मको सवारीसाधन मर्मतसम्भारमा २२ करोड १५ लाख ८४ हजार रुपैयाँ खर्च गरेको छ । यही अवधिमा ९५ करोड ८६ लाख ३३ हजार रुपैयाँको नयाँ सवारीसाधन खरिद गरिएको छ । चालु वर्षमा २७ करोड ६४ लाख २० हजार रुपैयाँको गाडी किन्ने योजना बनाइएको छ ।

ADVERTISEMENT

तस्विर : गुगल

प्रदेश सरकारले मर्मतसम्भारका लागि भने ७३ करोड ८५ लाख ५७ हजार रुपैयाँ छुट्याएको छ । बाग्मती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले मन्त्रालय र प्रादेशिक संरचना बढेसँगै सवारीसाधनको खर्च बढ्नु स्वाभाविक भएको बताए । उनले सवारीसाधनमा बर्सेनि बढ्दो खर्च नियन्त्रण गर्न सरकारले अध्ययन सुरु गरिसकेको जानकारी दिए । ‘धेरै मन्त्रालयले चालु वर्षमा नयाँ सवारी नकिन्ने भनेका छन । बजेट पनि त्यहीअनुसार बनाएका छौं,’ उनले भने ।

संघीय सरकारले चालु खर्च १५ प्रतिशत घटाउने भन्दै चालु आर्थिक वर्ष ०७९÷८० को बजेट वक्तव्यमार्फत सवारीसाधन नकिन्ने घोषणा गरेको छ । सवारीसाधन खरिद गर्दा खर्च बढ्ने र विदेशी मुद्राको सञ्चिति पनि घट्ने भएका कारण यस्तो घोषणा गरिएको जनाइएको छ ।

एक महिनामा १३ अर्ब खर्च
बागमती प्रदेश सरकारले गत असार एक महिनामा नै १३ अर्ब रूपैयाँ बजेट खर्च गरेको छ। गत आव ०७८÷७९ को अन्तिम महिना अर्थात असारमा मात्रै प्रदेश सरकारले १३ अर्ब ७९ करोड ४५ लाख ८ हजार ८ सय ३५ रूपैयाँ बजेट खर्च गरेको हो। अघिल्लो आवमा पनि बागमती सरकारले असारमा करिब १२ अर्ब रूपैयाँ बजेट खर्च गरेको थियो।

आर्थिक वर्षको अन्तिममा मनलाग्दी ढंगले हुने बजेट खर्चलाई प्रदेश सरकारले गत आवमा पनि रोक्न नसकेको प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ। सरकारले आवको ११ महिना अर्थात जेठसम्ममा २४ अर्ब ४८ करोड ९८ लाख रूपैयाँ मात्रै खर्च गरेको थियो। तर असार मसान्तसम्म सरकारको खर्च ३८ अर्ब २८ करोड ४३ लाख ८ हजार ८ सय ३५ रूपैयाँ पुगेको छ।

Advertisement 5

११ महिनामा ४२ प्रतिशत मात्रै बजेट खर्च गरेको सरकारले असार एक महिनामै खर्च ६६ दशमलव १९ प्रतिशत पु¥याएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ। आर्थिक वर्षको अन्तिम महिना असारका १९ दिनमै ३ अर्ब ९९ करोड ८७ लाख रूपैयाँ बजेट खर्च गरेको प्रदेश सरकारले असारको बाँकी १३ दिनमा थप ९ अर्ब ७९ करोड ५८ लाख ८ हजार ८ सय ३५ रूपैयाँ बजेट खर्च गरेको छ।

आर्थिक वर्षको अन्तिममा बजेट खर्च बढाउन जथाभावि खर्च गरे पनि गत आर्थिक वर्षमा बागमती प्रदेश सरकारको १९ अर्ब ४४ करोड ४८ लाख ८१ हजार ६ सय ५० रूपैयाँ बजेट फ्रिज भएको छ। गत आर्थिक वर्षमा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रूपैयाँको बजेट ल्याएकोमा असार मसान्तसम्ममा ३८ अर्ब २८ करोड ४३ लाख ८ हजार ८ सय ३५ रूपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी होमनाथ रिजालले जानकारी दिए।

उनका अनुसार गत आर्थिक वर्षमा बागमती प्रदेश सरकारको कूल बजेट खर्च ६६ दशमलव १९ प्रतिशत रहेको छ। जसमध्ये चालूतर्फको खर्च ७० दशमलव ७७ प्रतिशत र पुँजीगततर्फको खर्च ६३ दशमलव १६ प्रतिशत रहेको छ। गत आर्थिक वर्षमा बागमती सरकारले चालूतर्फ २३ अर्ब ३५ करोड ८० लाख रूपैयाँ बजेट विनियोजन गरेकोमा १५ अर्ब ९७ करोड १४ लाख ९८ हजार ३ सय ८० रूपैयाँ खर्च गरेको सूचना अधिकारी रिजालले जानकारी दिए। उनले गत आवमा पुँजीगततर्फ ३२ अर्ब ४१ करोड ८४ लाख रूपैयाँ बजेट ल्याएको सरकारले २१ अर्ब एक करोड २८ लाख १० हजार ४ सय ५४ रूपैयाँ मात्रै खर्च भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *