हेटौंडा, मकवानपुरमा बढ्दै गएको गर्मीको कारणले गर्दा हेटौंडाका केही वडाका विद्यालयले गर्मी विदा दिने भएका छन् । हेटौंडाका ४, ५ र १५ नम्वर वडाले सामूदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
शनिबार ४ नम्बर वडामा वडामा रहेका सवै विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकको उपस्थितिमा विद्यालय ३ दिन विदा दिने निर्णय भएको छ । आइतबारदेखि मंगलबारसम्म वडाका विद्यालयमा विदा गर्ने निर्णय भएको र अवस्था हेरेर त्यसपछि थप निर्णय गरिने वडा अध्यक्ष नवीन सिग्देलले जानकारी दिए ।
पछिल्लो केही दिनदेखि अत्याधिक गर्मी बढेकाले गर्मीका कारण विद्यार्थीहरुलाई अध्यन गर्न असहज हुन थालेपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको हेटौंडा–५ का वडा सदस्य ज्ञानु बहादुर थापाले बताए । विद्यार्थीलाई गर्मीबाट जोगाउनका लागि भन्दै वडाले नै विद्यालयमा गर्मी विदा दिने निर्णय गरेका हुन् । विद्यालय तहको सञ्चालनको अधिकार स्थानीय तहको भएको हुनाले वडा तहबाटै विद्यालय बन्द गर्न दिएको यो पहिलो पटक हो । हेटौंडा उपमहानगरपालिकाले आवश्यकताको आधारमा वडाले नै निर्णय गर्नसक्ने अधिकार दिएको जनाएको छ ।
उपमहानगरपालिका भित्रका वडाहरले २ देखि ३ दिन विद्यालय बन्दको निर्णय गरेका हुन् । नगरभित्रकै वडाहरुमा विद्यालय कतै बन्द र कतै सञ्चालन हुँदा अभिभावक तथा विद्यार्थीमा अन्यौलता सृजना भएको सरोकारवालाको गुनासो छ । अत्यावश्यक विषयमा पनि उपमहानगरपालिकाले ठोस कदम लिन नसकेको अभिभावकहरुको भनाई छ । कवानपुरकै बकैया गाउँपालिकाले पनि यस्तो निर्णय केही दिन अघि गरिसकेको छ ।






