हेटौंडा, ५१ औँ विश्व वातावरण दिवसको अवसरमा नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले निर्माण गरेको ‘रुख रोपौँ, हरियाली बढाऔँ’ म्यूजिक भिडियो बुधबार सार्वजनिक भएको हो। नवोदय क्रियटिभ आर्ट (सीए) शिक्षकको संयोजनमा उक्त म्यूजिक भिडियो तयार गरेको हो ।
नवोदय क्रियटिभ आर्टका संयोजक प्रलय चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा पतञ्जली योग समिति मकवानपुरका अध्यक्ष रामकृष्ण थापाको विशिष्ट अतिथिमा म्यूजिक भिडियो सार्वजनिक गरेको हो । नवोदय विद्यालयका संगित शिक्षिका किशु थापा जोशीको शब्द संगीत रहेको गीतमा विद्यालयका नृत्य शिक्षकहरु पर्वत राई र विष्णु ठकुरीले कोरियोग्राफी गरी भिडियो तयार गरेको थियो ।
विश्व वातावरण दिवसको अवसरमा तयार पारीएको इको ब्रिकको बारेमा आर्ट शिक्षक मनिस योञ्जनले प्रकाश पारेका थिए । खेर गएका प्लाष्टिकजन्य पदार्थबाट इको ब्रिक तयार गरी सोबाट टेबुल, बुक र्याक, कुर्सी निर्माण गरेको योञ्जनले बताए । कार्यक्रममा विशिष्ट अतिथि रहेका रामकृष्ण थापाले फोहारलाई मोहरमा रुपान्तरण गर्न सकिनेमा जोड दिएका थिए ।
विद्यालयका निर्देशक दिपेश जोशीले आफूले परिकल्पना गरेको योजनामा नवोदय क्रियटिभ आर्ट शिक्षकले निर्माण गरेको म्युजिक भिडियो र इको ब्रिकले सार्थकता मिलेको औल्याएका थिए । कार्यक्रममा विद्यालयका शैक्षिक निर्देशक अरुण दहाललगायत शिक्षक, विद्यार्थीहरुको सहभागीता रहेको थियो ।






