हेटौँडा, बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले पहिलोपटक सवारीसाधन अनुशासित र मर्यादित रूपमा सञ्चालन गर्ने चालक तथा सहचालकलाई नगदसहित सम्मान गरेको छ। बुधबार हेटौंडामा आयोजित “उत्कृष्ट चालक तथा सहचालक सम्मान कार्यक्रम” मार्फत १५ जना चालक तथा सहचालकलाई जनही १५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो। नारायणी यातायात व्यवसायी संघको सिफारिसका आधारमा छनोट भएका नामलाई मन्त्रालयले समीक्षा गरी अन्तिम सूची तय गरेको हो।
सम्मानित हुनेहरूमा चालक यादव थपलिया, कान्छा श्रेष्ठ, शरण सिंह लामा, विष्णुबहादुर रोक्का, कुशकुमार ढकाल, धनबहादुर तामाङ, कृष्णहरि पुडासैनी, जानुका गौतम, नवीना खड्का र सरिता गौतम रहेका छन्। यस्तै, सहचालकतर्फ दिपेश भैया, रमेश चौधरी, राजेश थापा क्षेत्री, सञ्जय प्रजा र सुरेश रुम्बा सम्मानित भएका हुन्। कार्यक्रममा श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन, मन्त्रालयका सचिव वीरेन्द्रदेव भारती, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो। उनीहरूले चालक तथा सहचालकलाई प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरेका थिए।
मन्त्री महर्जनले मितव्ययी र जिम्मेवार ढंगले सवारीसाधन सञ्चालन गर्नेहरूलाई सम्मान तथा हौसला प्रदान गर्न मन्त्रालयले यस्तो कार्यक्रम ल्याएको बताए। आगामी आर्थिक वर्षका लागि पनि चालकहरूको प्रोत्साहनका लागि विशेष कार्यक्रम र बजेट विनियोजन गरिने उनले जानकारी दिए।







