बागमती प्रदेशसभा बैठक १७ गतेसम्म स्थगित

हेटौंडा, बागमती प्रदेशसभाको बैठक करिव आधा घण्टा बसेर स्थगित भएको छ । प्रतिपक्ष दलहरुको अवरोधका कारण पटक पटक स्थगित हुँदै आएको प्रदेशसभा बैठक आगामी १७ गते दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको हो । बैठकमा राप्रपाका बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले मात्र सम्बोधन गरेका थिए ।

बैठकको कार्यसूचि अनुसार सभामुख भुवनकुमार पाठकले बैठक संचालन गरे लगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित राप्रपाका सांसदले आसनबाट उठेर विरोध गरेका थिए । उनीहरुको विरोधका बिच सभामुख पाठकले प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट माथिको छलफलको कार्यसूचि अघि बढाएका थिए ।

बजेट माथिको छलफलमा भागि लिने सहभागिको नाम प्राप्त भएको र राप्रपा संसदीय दलका नेता थापालाई बोल्न समय निर्धारण गर्दै सभामुखले रुलिङ गरेपछि प्रतिपक्ष दलका सांसदहरुले विरोधलाई रोक्दै आसनमा बसेका थिए । नेता थापाको सम्बोधन सकिए लगत्तै सांसदहरुले पूनः विरोधको कार्यक्रमलाई निरन्तरता दिन उभिदै गर्दा सभामुख पाठकले बैठक स्थगन गरेको रुलिङ गरेका थिए ।

प्रदेशसभाको बैठकमा सत्तापक्षमका ३ सांसद र केही मन्त्रीसहित ३४ जना सांसदहरुको उपस्थिती रहेको थियो ।
बैठकमा एमालेका र राप्रपाका करिव २६ जना सांसदहरुको उपस्थिती रहेको थियो । प्रदेशसभा संचालनको लागि कुल ११० जना सांसद मध्ये एक चौथाई सांसद आवश्यक हुन्छ । सदनमा सम्बोधन गर्दै नेता थापाले सरकारका मुख्यमन्त्री र मन्त्री निश्चित निर्वाचन क्षेत्रको मात्र भएको बताए । मुख्यमन्त्री र मन्त्रीहरु सिंगो प्रदेशको हुन नसककेको उनले बताए ।

उनका अनुसार प्रदेश सरकारका नेतृत्वकर्ताहरु बजेट निर्माणको विषयमा निश्चित घेरा भन्दा बाहिर जान सकेका छैनन् ।
‘सरकारका मुख्यमन्त्री र मन्त्रीहरु निश्चित निर्वाचन क्षत्रेको मात्र हुनुभयो । उहाँहरु समग्र प्रदेशको बन्न सक्नु भएन ।’ उनले भने, ‘सरकारको बजेट साममनय वडा कार्यालयले गर्ने कार्यक्रमहरु समावेश भएको छ । २/५ लाख रुपैयाँको बजेट ल्याएर कार्यकर्ता पाल्ने काम भएको छ । बजेटमा सबै नागरिकले अपनत्व गर्ने प्रकृतिको आउनु पर्ने भएपनि त्यसो हुन सकेन ।’

प्रदेश सरकारको बजेटले संस्कृति संरक्षणमा ध्यान दिनु नसकेको उनले बताए । नेवार समुदायको संस्कृति ‘गुठ्ठि’ माथि हस्तक्षेप गर्दा सरकारले नै गल्ति महशुस गरी फिर्ता लिनु परेका भन्दै विगतमा घटनाक्रमहरु पनि सम्झनामा राख्न उनले आग्रह गरे ।
उनले सरकारको गतिविधिले राप्रपाको एजेण्डालाई सहयोग गरेको बताए । सरकार गतिविधि प्रदेश संरचनालाई कमजोर बनाउने तर्फ केन्द्रीत भएकाले राप्रपाको एजेण्डालाई थप सहयोग पुगेको उनले बताए ।

‘सरकारको गतिविधिले हामीलाई सजिलो बनाइएको जस्तो देखिएको छ । हामी त प्रदेश संरचना खारेजको माग गर्दै आएका छौं । हाम्रो एजेण्डालाई सरकारका काम कारवाहीले सहजता प्रदान गरेको छ ।’ नेता थापाले भने, ‘राप्रपाको पक्षमा समिकरण पुरा भएको अवस्थामा यो संरचना खारेज गर्ने हो । त्यो नपुग्दासम्म देश विकासमा मिलेर जाने भन्ने हाम्रो रणनीति रहेको छ । केन्द्रमा पनि सोही अनुसार हाम्रो उपस्थिती रहेको छ ।’ बजेटमा प्रतिपक्षले उठाएका सुझावहरु समेटेर समृद्ध बागमती प्रदेश निर्माणमा सरकारले अग्रसर्ता देखाउनु पर्ने उनले बताए । सरकारले बजेट समानुपातिक र समावेशी नबनाएसम्म प्रदेशसभाको बैठक चल्न नसक्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button