बागमती प्रदेशसभा : विपक्षीको अवरोध कायमै

हेटौंडा, विपक्षी दलहरुको निरन्तर अवरोधपछि बागमती प्रदेशसभा बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ । आइतबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक विपक्षी दलको अवरोधका कारण बस्न सकेन । यसअघि गएको बिहीबार पनि विपक्षी दलहरुको अवरोधका कारण प्रदेशसभा बैठक आइतबार दिउँसो २ बजे बस्नेगरी स्थगित गरिएको थियो ।

ADVERTISEMENT

विपक्षीको निरन्तर अवरोधका कारण आइतबार पनि आगामी आर्थिक वर्षको लागि विनियोजित बजेटमाथि छलफल अघि बढ्न सकेको छैन । प्रतिपक्षी दल एमालेसहित राप्रपाका सांसदहरूले अवरोध गरेपछि आइतबारको बैठक पनि सञ्चालन हुन नसकेको हो । २ बजेका लागि बोलाइएको आइतबारको बैठक २ घण्टा ढिलोगरी ४ बजे सुरु भएको थियो । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल एमालेसहित राप्रपाका सांसदहरूले नाराबाजी गर्दै बैठकमा अवरोध सृजना गरेका थिए । उनीहरुले प्रदेश सरकारले ल्याएको बजेट विभेदकारी र जनविरोधी भएको भन्दै नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको थियो ।

बैठक सुरु हुनासाथ सभामुख भुवन कुमार पाठकले नेमकिपाका बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंलाई बोल्न समय दिएका थिए । नेता गोसाईंले सरकारको बजेटमाथि विमति राख्दै आफ्नो भनाई सक्नासाथ विपक्षी दलका सांसदहरूले नाराबाजी सुरु गरेका थिए । उनीहरूको नाराबाजीपछि सभामुख पाठकले सांसदहरूलाई बस्न आग्रह गर्दै रुलिङ गरे । सभामुख पाठकको रुलिङलाई बेवास्ता गर्दै एमाले र राप्रपाका सांसदहरूले रोष्टम घेराउ गर्न अघिबढेपछि बैठक स्थगित भएको घोषणा गरिएको थियो ।

ADVERTISEMENT

आइतबार साँझ साँढे पाँच बजे पुनः बस्नेगरी स्थगित गरिएको बैठक बस्न नसकेपछि सोमबार बिहान ११ बजे आव्हान गरेको संसद् सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए । प्रतिपक्षी दल एमाले र राप्रपाले बजेट सत्तापक्षका सांसद र मुख्यमन्त्री, आर्थिक मामिला मन्त्री र भौतिक पूर्वाधार मन्त्रीको निर्वाचन क्षेत्रमा बढी केन्द्रित गरेको आरोप लगाउँदै पुनः लेखन गर्नुपर्ने माग गरेका छन् । आइतबार नै एमालेले पत्रकार सम्मेलन गर्दै बागमती सरकारको बजेट संशोधन गर्न ११ बुँदे माग गरेको छ ।

विगत सरकारले थालनी गरेको सामूहिक खेतीलाई निरन्तरता दिनेगरी बजेटमा संशोधन गर्नुपर्ने, सार्वजनिक रुपमा सञ्चालन हुने विद्युतीय सवारी साधन सञ्चालन गर्न बजेटको व्यवस्था गर्नुपर्ने, भीमफेदी–कुलेखानी सुरुङमार्गका लागि शीर्षक मात्र नभई प्रदेश सरकारबाट संघीय सरकारसँग समन्वय गरी बजेटको व्यवस्था गर्नुपर्ने, पालिकाको केन्द्रसँग जोड्ने सडक सञ्जाल निर्माणका लागि गुरुयोजना बनाई बजेटको व्यवस्था गर्नुपर्ने एमालेको माग छ ।(स्रोतः रातोपाटी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *