हेटौंडा, शनिबार मनहरीमा दुईवटा ट्रक एकआपसमा ठोक्किएर आगलागी हुँदा तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । शनिबार बिहान करिब पौने २ बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत मनहरी ६ नयाँबस्ती डिपाडमा दुर्घटना भएको हो ।
हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा दुवै ट्रकमा आगलागी भएको हो । दुर्घटनामा च्यापिएर जलेको अवस्थामा तीनजना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा ना ६ ख ६६६७ नम्बरको ट्रक चालक चितवनको राप्ति नगरपालिका ८ बस्ने अन्दाजी २८ वर्षका रिहान रुम्बा तामाङ, सोही ट्रकका सहचालक गोरखाको गण्डकी गाउँपालिका २ गोर्दीटार बस्ने २१ बर्षका सुमन चेपाङ र ना ६ ख ६३१ नम्बरको ट्रक सहचालक मकवानपुरको मनहरी गाउँपालिका ३ का करिब २० वर्षका अमृत प्रजा रहेका छन् । मृतकको शरीरको अधिकांश भाग जलेको थियो । दुर्घटनामा दुईजना घाइते भएका छन् ।
६६६७ नम्बरको ट्रकमा रहेका चितवनको राप्ति नगरपालिका ३ का ३५ वर्षका विवेक तामाङ र ६३१ नम्बरको ट्रकका चालक मकवानपुरको मनहरी गाउँपालिका ३ बस्ने ३२ वर्षका अर्जुनकुमार प्रजा रहेका छन् । दुवैजनाको उपचार भैरहेको र अवस्था मध्यम रहेको र डिएसपी कार्कीले बताए । ‘राति दुईवटा ट्रक एकआपसमा ठोक्किएको र ठोक्किने बित्तिकै आगलागी भएको पाइएको छ’, डिएसपी कार्कीले भने, ‘घटनाको जानकारी पश्चात जिल्लाबाट मेरो कमाण्डमा र ईलाका प्रहरी कार्यालय मनहरीबाट इन्सपेक्टरको कमान्डमा प्रहरी टोली खटिएका थियौं । आगोका कारण दुवै ट्रक नष्ट भएको छ । हेटौंडा उपमहानगरपालिकाको दुईवटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।’
दुर्घटनापश्चात करिब दुईघन्टा राजमार्ग बन्द समेत भएको थियो । मृतकहरुको शव हेटौंडा अस्पतालमा राखिएको छ । दुर्घटनाको विषयमा आवश्यक अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।