हेटौँडा, बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले हाल प्रदेशमा मुख्यमन्त्री परिवर्तनको विषयमा फैलिएको चर्चा पूर्णतः निराधार भएको स्पष्ट पार्नुभएको छ। उहाँले गम्भीर स्वास्थ्य समस्या आउनु वा मृत्यु भएमा मात्र पदबाट हट्ने सम्भावना रहेको बताउँदै, अहिलेसम्म आफूलाई हटाएर मुख्यमन्त्री फेरबदल गर्ने कुनै औपचारिक आधार नभएको प्रष्ट गर्नुभयो।
‘अहिलेको अवस्थामा मुख्यमन्त्री परिवर्तनको कुनै कारण देखिन्न,’ मुख्यमन्त्री लामाले भन्नुभयो, ‘म गम्भीर बिरामी भएमा वा मृत्यु भएमा मात्र यस्तो सम्भावना आउन सक्छ, अन्यथा यस्तो चर्चा निरर्थक हो।’ उहाँले लोकतन्त्रको स्थापनाका लागि आफैंले लिएको दीर्घसंघर्षको स्मरण गर्दै मुख्यमन्त्री परिवर्तन कानुनी प्रक्रिया अनुसार मात्रै सम्भव हुने धारणा राख्नुभयो। ‘सरकार र मुख्यमन्त्रीको परिवर्तन कानुनी प्रक्रिया र संवैधानिक प्रावधानअनुसार मात्र हुन सक्छ,’ उहाँले स्पष्ट पार्नुभयो, ‘हल्लाका आधारमा सरकार नचल्छ, कानुन र विधिले मात्र अगाडि बढ्छ।’
हालैको विदेश भ्रमणका क्रममा आफू ‘बेपत्ता’ भएको भनी अफवाह फैलाइएको र त्यसका आधारमा भ्रामक समाचार प्रकाशित भएकोप्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो। पछिल्ला दिनहरूमा फेरि मुख्यमन्त्री परिवर्तनको चर्चा चलेकोप्रति पनि उहाँले गम्भीर आपत्ति जनाउँदै यस्ता हल्लामा कुनै सत्यता नरहेको दाबी गर्नुभयो। उहाँले यस विषयमा नेपाली कांग्रेसका कुनै नेताबाट दबाब नआएको स्पष्ट गर्दै आफूले पनि राजीनामा दिने कुनै योजना नरहेको जानकारी दिनुभयो।
यसअघि जेठ र असार महिनामा पनि मुख्यमन्त्री परिवर्तनको चर्चा चर्किएको थियो। बजेट पारित गर्ने सन्दर्भमा देखिएको राजनीतिक असमझदारीका कारण यस्तो चर्चा चलेको कुरा कांग्रेसका केही सांसदहरूले समेत स्वीकार गरेका छन्।
त्यसैगरी, मुख्यमन्त्री लामा र नेपाली कांग्रेसका प्रदेशसभा दलका नेता इन्द्रबहादुर बानियाँबीच आलोपालो सरकार सञ्चालन गर्ने मौखिक सहमति भएको भनिए पनि त्यसको कुनै लिखित प्रमाण हालसम्म सार्वजनिक भएको छैन। मुख्यमन्त्री फेरिने विषयमा केन्द्रबाट दबाब आएको भन्ने कुरालाई कांग्रेसकै नेताहरूले अस्वीकार गरेका छन्।







