हेटौंडा, मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ७२ करोड ६५ लाख ५६ हजारको बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष मानकुमारी नेपाली पाख्रिनले बुधबार नवौं गाउँसभाको दोस्रो बैठकमा ७२ करोड ६५ लाख ५६ हजारको बजेट प्रस्तुत गरेकी हुन् ।
गत असार १० गते नीति तथा कार्यक्रम र बजेट प्रस्तुतको क्रममा ६२ करोड २ लाख ५६ हजारको अनुमानित बजेट प्रस्तुत गरेकोमा अहिले १० करोड बढाएर बजेट प्रस्तुत गरिएको हो । उनले सभामा विषयगत शाखा सहितका विभिन्न शीर्षकको बजेट प्रस्तुत गरेकी थिइन् । गाउँपालिका स्तरीय चालु खर्चको कार्यक्रमलाई ८ करोड ८९ लाख ८८ हजार, लक्षित वर्गको कार्यक्रम अन्तरगत दलितका लागि १० लाख, जनजातितर्फ १० लाख, अपांगका लागि ८ लाख, महिलाको लागि ९ लाख, बालबालिकातर्फ १० लाख र युवा लक्षित कार्यक्रममा ६ लाख विनियोजन गरिएको छ ।
महिला तथा बालबालिका शाखालाई १० लाख, स्वास्थ्य शाखालाई ८० लाख, कृषि विकास शाखालाई ६० लाख, पशु शाखालाई ८० लाख, शिक्षा शाखालाई २ करोड, खेलकुदलाई २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । सभामा विनियोजन विधेयक २०८० गाउँपालिकाका प्रवक्ता एवम् वडा ५ का वडा अध्यक्ष दिपेश दाहालले प्रस्तुत गरेका थिए । आन्तरिक स्रोतबाट ११ करोड ६३ लाख, सम्पति बहाल तथा पट्टामा लाग्ने कर ५ लाख, भूमिकर १२ लाख, घरबहाल कर ५ लाख हुने अनुमान गरिएको छ । व्ययतर्फ आर्थिक विकास समितिमा ४ करोड ८ लाख, पूर्वाधार विकासमा २९ करोड २४ लाख ३८ हजार, संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा ५५ लाख ९४ हजार, सामाजिक विकासतर्फ २८ करोड ५३ लाख ३९ हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनमा ८७ लाख १७ हजार, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा ९ करोड ६५ लाख व्यय हुने अनुमान गरिएको छ।
सभामा पूर्वाधार विकास समितिका संयोजक एवम् वडा नम्बर २ का अध्यक्ष बखानसिं पाख्रिनले मकवानपुरगढी गाउँपालिकाको खानेपानी उपभोक्ता समितिलाई व्यवस्थित गर्न बनेको विधेयक प्रस्तुत गरेका थिए ।







