१४ घण्टापछि कान्ति लोकपथ सञ्चालनमा

हेटौँडा, अविरल वर्षाका कारण अवरुद्ध भएको कान्ति लोकपथ १४ घण्टापछि पुनः सञ्चालनमा आएको छ। बुधबार रातिदेखि परेको लगातार वर्षाले भीमफेदी गाउँपालिका–८, वगुवास्थित बागमती खोलानजिकको सडक खण्डमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। वर्षाले सडकको भित्ता बगाएपछि तल्लो भागमा समेत क्षति पुगेको थियो।

ADVERTISEMENT

सडक अवरुद्ध भएपछि बिहीबार बिहान १ बजेदेखि यातायात सम्पर्क टुटेको इलाका प्रहरी कार्यालय ठिंगनका प्रहरी निरीक्षक विद्यासागर मेहताले जानकारी दिए। उनका अनुसार डोजर र एक्स्काभेटरको प्रयोग गरेर पहिरो पन्छाइएपछि अपराह्न ३ बजेबाट लोकपथ पुनः सञ्चालनमा आएको हो।

‘१४ घण्टाको प्रयासपछि सडक सञ्चालनमा ल्याइएको हो,’ निरीक्षक मेहताले भने। पहिरोले सडक साँघुरो बनाएको र जोखिम अझै कायम रहेको बताइएको छ। स्थानीय प्रशासनले यात्रुहरुलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *