हेटौंडा, दूधजन्य पदार्थको मागलाई ध्यानमा राख्दै मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले दुग्ध प्रशोधन परियोजना सञ्चालन गर्न लागेको छ । परियोजनामा जडान भएको मेसिनको बुधबार प्रारम्भिक परीक्षण गरिएको छ । उद्योगमा दही, खुवा, आइसक्रिम, पनिर, घ्यू, नौनी, जिरा मोही उत्पादन हुनेछ । करिब ६ करोडको लगानीमा निर्माण भइरहेको उद्योगमा बागमती प्रदेश सरकारको ५७ लाख २० हजार, सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी)को एक करोड ७१ लाख र सहकारी संघको करिब ३ करोड लगानी रहेको छ ।

उद्योगमा एक सिफ्टमा १० हजार लिटर दूधको विभिन्न परिकार बनाउन सक्ने क्षमता रहेको जिल्ला दुग्ध उत्पादक सहकारी संघका ब्यवस्थापक कुमारमणि दाहालले बताए । जिल्लाका ६० वटा सहकारी संस्था आवद्ध रहेको दुग्ध सहकारी संघले दैनिक ४० हजार लिटर दूध खरिद बिक्रीका लागि सहजीकरण गर्दै आएको छ । उद्योगमा खुवा बन्ने मेसिनको परीक्षण गरिएको हो । बागमती प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष तथा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटा सहित मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी लगायतको उपस्थितीमा मेसिनको प्रारम्भिक परीक्षण गरिएको हो । परियोजनाको प्रारिम्भक परीक्षण गरेतापनि दही र आइसक्रिम बन्ने मेसिन उद्योगमा आइसकेको छैन ।
दही र आइसक्रिम बन्ने मेसिन नआउँदा परियोजनाको उद्घाटन हुने टुंगो लागेको छैन । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ मा सञ्चालनको तयारीमा रहेको उद्योगलाई बागमति प्रदेश सरकार, सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी) र सहकारी संघले लगानी गरेको हो । गतवर्ष नै उद्योग सञ्चालनमा आउनुपर्नेमा कोरोना महामारीले गर्दा काममा ढिलाई भएको थियो ।
परीक्षण उत्पादनका क्रममा प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष देवकोटाले जिल्ला दुग्ध उत्पादक सहकारी संघमा संकलित दूधलाई विभिन्न परिकार बनाई बजारीकरण गर्ने उद्देश्यले उद्योग सञ्चालन गर्न लागिएको बताए । जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आवद्ध र स्थानीय कृषकले उत्पादन गरेका कच्चा दूधलाई संकलन गरी विभिन्न परिकार तयार गरी विक्री गरिने संघका अध्यक्ष बासुदेव अधिकारीले बताए । अधिकारीले कृषकहरुलाई व्यवसायिक बनाई आत्मनिर्भर बनाउन दुग्ध उद्योग प्रभावकारी हुने दावी गरे ।







