हेटौंडा, मकवानपुरको बकैया गाउँपालिकाले भुमिहिन सुकुम्बासीहरुलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरेको छ । शनिबार एक कार्यक्रमका बिच प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितीमा बकैया वडा नम्बर–५ का ११ जना भुमिहिन सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गरिएको हो ।
मुख्यमन्त्री जम्कट्टेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बकैया–५ का शुक्रबहादुर भुलुन, निरमाया भुलुन, फुलमाया भुलुन, सुवास कुमार बि.क, शुसिला विक, बाबुलाल थिङ, कमल बहादुर थिङ, कान्छीमाया पुलामी, हस्तबहादुर थिङ, लक्ष्मण थापा र विनोद वाइवालाई लालपुर्जा हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुख्यमन्त्री जम्कट्टेलले सरकारले नागरिकहरु प्रति उत्तरदायी भएर काम गरेको बताए ।
उनले सरकारले सकारात्मक पहलहरु गर्दा पनि विपक्षीहरुले विरोधका लागि विरोध गरेको बताए । सरकारले अवैध रुपमा ल्याएको सुन नियन्त्रणमा लिँदा पनि विपक्षीहरुले विरोध गर्दै सडकमा राँके जुलुस निकालेको उनको भनाई छ ।
‘सरकारले नागरिकहरुप्रति उत्तरदायी भएर जिम्मेवारी पुरा गरिरहेको छ ।
तर, सरकारले राम्रो काम गर्दागर्दै पनि विपक्षीहरुले विरोध गर्दै अवरोध गर्ने काम गरिरहेका छन् ।’ उनले भने, ‘सरकारले अवैध रुपमा ल्याइएको १०० किलो सुन समातेर अनुसन्धान कार्य अघि बढाएको छ । तर, एमालेका साथिहरु विरोध गर्दै राँके जुलुसमा निस्किनु भएको छ ।’