प्रदेशका १३ अस्पतालमा विरामी भर्ना सेवा निःशुल्क गर्न निर्देशन

हेटौंडा, बागमती प्रदेशका सबै प्रादेशिक अस्पतालहरुमा विरामी भर्ना सेवा निःशुल्क हुने भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै सबै विरामी भर्ना सेवाका लागि प्रादेशिक अस्पतालहरुका शैयाहरु निःशुल्क उपलब्ध गराउन निर्देशन गरिएको छ ।

भदौ १ गतेबाट लागू हुने गरी मन्त्रालय अन्तर्गत रहेका १३ वटा अस्पतालका सबै शैया नागरिकहरुलाई निःशुल्क उपलब्ध गराउन निर्देशन गरिएको हो । उक्त निर्देशन अनुसार प्रादेशिक अस्पतालका क्याविन, एनआईसियू र आईसियू बाहेक अन्य सम्पूर्ण शैयाहरु निःशुल्क हुने भएको छ । गत साउन २२ गतेको मन्त्रीस्तरको निर्णय अनुसार मन्त्रालयले साउन २८ गते आइतबार सो सूचना जारी गरेको हो ।

उक्त निर्णय अनुसार प्रदेशका १३ जिल्लाका १३ प्रादेशिक अस्पतालका ८११ वटा शैया नागरिकहरुका लागि निःशुल्क उपलब्ध हुने मन्त्री उत्तम जोशीले बताए । उनका अनुसार अस्पतालमा विरामी भर्ना बाहेकका अन्य शुल्क भने सरकारले तोके अनुसार हुनेछ । त्यस्तै मन्त्रालयले भदौ १ गतेदेखि लागू हुने गरी प्रदेशभित्रका १३ वटा आयुर्वेद केन्द्रलाई पनि रिह्यावीटेसन सेवा र फिजियोथेरापी सेवा निःशुल्क गर्न निर्देशन गरिएको छ ।

त्यसैगरी प्रदेशका सरकारी, निजी, सहकारी र सामुदायिक अस्पतालहरुलाई सामाजिक सेवा ईकाई स्थापना गरी विपन्न, असाहय तथा वेवारिसे विरामीको उपचार व्यवस्थित गर्न मन्त्रालयले निर्देशन जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *