हेटौंडा, हेटौडा–६ शान्तिटोलमा रहेको विपी गणेशमान स्मृति शान्तिपार्कको विद्यार्थीहरुले अवलोकन गरेका छन । हेटौडा–६, चौघडामा रहेको सुनगाभा शिक्षा निकेतनमा कक्षा–५ मा अध्ययनरत विद्यार्थीहरुले पार्कको अवलोकन गरेका हुन ।
स्थानीय स्तरमा रहेका प्राकृतिक सम्पदा, पार्क, मठमन्दिर, सार्वजनिक संरचनाको अवलोकन गर्ने कार्यक्रम अन्तरगत पिस पार्कको अवलोकन गरिएको विद्यालयका प्राचार्य अरुण पराजुलीले बताए ।
विद्यार्थीहरुलाई विपी गणेशमान स्मृति शान्ति पार्कका अध्यक्ष भीमसेन पौडेलले पार्कको बारेमा जानकारी गराएका थिए ।
रानी सामुदायिक वनको क्षेत्रभित्र निर्माण गरिएको यस पार्कमा किरातेश्वर महादेवको मन्दिर, कार्यालय भवन,शौचालय, वातावरण बाटिका, सालक केज, ब्याडमिन्टन कोर्ट, टिकटिक गेट लगायतका संरचना निर्माण भएका छन ।
भविष्यमा विपी, गणेशमान, मनमोहन र पुष्पलालको अर्धकदको शालिक, पिकनिक स्पट, झोलुङगे पुल, वनदेवी मन्दिर बुद्धको मूर्ती निर्माण लगायतका कार्यहरु गरिने अध्यक्ष पौडेलले बताए । यसको लागि पर्यटन विकास आयोजना, हेटौडाले डिपिआर तैयार गरिसकेको छ भने सम्पूर्ण संरचना बनाउन ९ करोड लाग्ने पार्कका सचिव भरत सापकोटाले बताए ।

राष्ट्रिय तथा अन्र्तराष्ट्रिय अवलोकनकर्ताहरुको अवलोकन गर्ने थलोको रुपमा विकास गराई दिगो आयआर्जन गर्ने लक्ष्य रहेको पार्क समितिले जनाएको छ । हेटौडा बजार देखि ६ किलोमिटर पूर्व रानी सामुदायिक वनको क्षेत्र भित्र प्राकृतिक दृष्यावलोकन गर्दै पार्कको मज्जा लिन सकिने यस पार्कमा दिन प्रतिदिन अवलोकनकर्ताहरु बढिरहेका छन ।
विद्यालयकी शिक्षिका मुना बिकको नेतृतवमा आएको टोलीमा ४० जना विद्यार्थीहर रहेका थिए ।