हेटौँडा, हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माविमा विज्ञान कक्षा तथा प्रयोगशाला उद्घाटन भएको छ । शुक्रवार विद्यालयमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलले प्रयोगशालाको उद्घाटन गरेका हुन् ।
विज्ञान कक्षा तथा प्रयोगशाला उद्धाटन भएसँगै विद्यालयले यसै शैक्षिक सत्रदेखि कक्षा ११ मा विज्ञान विषयको पठनपाठन सुरु गरेको छ । विज्ञान संकाय सुरुवातको घोषणा तथा प्रयोगशाला उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महानिर्देशक पौडेलले मकवानपुर जिल्लाकै उत्कृष्ट आधुनिक माविलाई अझै व्यवस्थित गरेर लैजान सुझाव दिए ।
पौडेलले हालसम्म पनि २०२८ सालकै शिक्षा ऐन लागु भइरहेको भन्दै सरकारले शिक्षा ऐन परिवर्तन गर्न खोजेको बताए । संघीयताको मर्म अनुसार सरकारले नयाँ ढंगबाट जाने सोच बनाएर कार्यवीधि तयार गरिएको उनले बताए । शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक पुर्ण बहादुर दर्जीले विज्ञान विषय पढ्ने विद्यार्थीहरुका लागि आधुनिक माविले अवसर प्रदान गरेको बताए । उनले मकवानपुर जिल्लामै उत्कृष्ट आधुनिक विद्यालयलाई आगामी दिनहरुका लागि पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।
विद्यालयका प्रधानाध्यापक रामसागर गुरागाईका अनुसार पहिलो वर्षमा विज्ञान संकायमा ४३ जना विद्यार्थी भएका
छन् । २०६७ सालदेखि उच्च मावि तहमा मानविकी र शिक्षा संकाय सञ्चालन गर्दै आएको आधुनिकमा यस वर्षदेखि अग्रेजी माध्यममा व्यवस्थापन संकायलाई पनि सुरु गरेको उनले बताए ।







