हेटौंडा, हेटौंडा–८ मा रहेको किसान कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रजत जयन्तीको अवसरमा शुक्रबार आयोजित बाल समूह हाजिरीजवाफ प्रतियोगितामा चन्द्रोदय बाल क्लव प्रथम भएको छ ।
९ वटा बाल क्लवले सहभागिता जनाएको प्रतियोगितामा नमुना टोलको मकालु बाल समूह दोस्रो र माउण्ट एभरेष्ट बाल समूह तेस्रो भएको सहकारीको व्यवस्थापक केशवकुमार शाही ठकुरीले जानकारी दिए । सहकारीको शिक्षा उपसमिति संयोजक उमानाथ आचार्यको अध्यक्षतामा भएको प्रतियोगितामा सहकारीका अध्यक्ष मोतिलाल लामाको प्रमुख आतिथ्य रहेको थियो ।

हाजिरी जवाफ प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो हुनेलाई क्रमशस् नगद ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ सहकारीको समापन तथा पुरस्कार वितरण कार्यक्रममा प्रदान गरिने अध्यक्ष लामाले जानकारी दिए। हाजिरीजवाफ प्रतियोगितामा चन्द्रोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक जिधराज ढकाल, सहायक प्रधानाध्यापक बज्रकिशोर प्रसाद गुप्ता, सहकारीको लेखा संयोजक यशोदा कुमारी उप्रेती, सहकारीको सञ्चालक सदस्य कुमारबहादुर केसी, कल्पना विक, लेखा सदस्य टिकाप्रसाद कडेँल, गोकर्ण तिवारीलगायतको आतिथ्यता रहेको थियो । २५औँ वर्षमा प्रवेश गरेको अवसरमा सहकारीले विविध कार्यक्रमको आयोजना गरी रजत जयन्ती मनाइरहेको छ ।







