हेटौंडा, मकवानपुरबाट निर्वाचित सांसदहरु हेटौंडा बजार क्षेत्रको सडक विस्तारको विषय लिएर प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् । मंगलबार मकवानपुरबाट निर्वाचित संघीय सांसदहरुले राष्ट्रिय राजमार्ग अन्तर्गतको हेटौंडा बजार क्षेत्रको सडक विस्तारको विषयमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका हुन् ।
लामो समयदेखि हेटौंडा बजार क्षेत्रको सडक विस्तार कार्य अवरुद्ध हुँदै आएको छ । पटक पटक सडक विस्तारको लागि सडक सिमा खाली गर्न डिभिजन सडक कार्यालय हेटौंडाले सूचना जारी गरेपनि अदालतमा मुद्धा पर्दा विस्तार कार्य रोकिदै आएको छ । उक्त विषयमा डिभिजन कार्यालय हेटौंडा राष्ट्रिय राजमार्ग अन्तर्गतको दायाँबायाँ २५÷२५ मिटर सडक क्षेत्रमा पर्ने भन्दै हटाउन सूचना जारी गर्दैै आएको छ भने उक्त क्षेत्रका घरधनी र व्यवसायीहरु नीजि जग्गामा सरकारी तवरवाट हस्तक्षेत्र पगर्न नपाउने भन्दै विरोधमा उत्रिदै आएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा–१५ रातोमाटे देखि हेटौंडा–१ राप्ती पुलसम्मको सडक विस्तारमा समस्या हुँदै आएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा बजार क्षेत्रको सडक विस्तारको विषय लिएर मकवानपुरका सांसदको टोलीले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका हुन् । उचित मुआब्जा र व्यवसायीहरुको व्यवस्थापनको माग गर्दै आएको मकवानपुर उद्योग वाणिज्य संघको अगुवाइमा सांसदहरु प्रधानमन्त्री प्रचण्ड भेट्न पुगेका हुन् । संघ सहित स्थानीय घरधनीहरुले सडक विस्तार गर्ने सरकारको कामलाई कसैले बाधा, अवरोध नगर्ने तर, सडक विस्तारकै कारण हेटौंडाको एचआइडी, मेनरोड, रापतीरोडका घरधनी र व्यावसायीहरु सुकुम्वासी हुने भएकाले मुआव्जा दिएर मात्र सडक विस्तार गर्न माग गर्दै आएका छन् ।
प्रधानमन्त्रीलाई भेट गरेर सांसदहरुको टोलिले पहिले हेटौंडा बजार क्षत्रेका घरहरुको लगत संकलन गरी मुआव्जा वितरण सहित सडक विस्तार गर्न प्रधानमन्त्री प्रचण्ड समक्ष ध्यानाकर्षण गराएका थिए ।
मकवानपुरबाट निर्वाचित संघीय सांसद एवम् नेकपा एमालेका सचेतक महेश कुमार बर्तौला, पूर्वाधार विकास समिति सभापति एवम् राप्रपा केन्द्रीय कार्यसम्पादन समिति सदस्य दिपकबहादुर सिंह, रास्वपाकी केन्द्रीय सदस्य विन्दवासीनी कंशकार, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई, बागमती प्रदेशसभाका सदस्य लक्ष्मी श्रेष्ठ लगायतकाको टोलिले प्रधानमन्त्री प्रचण्डलाई भेट गरेर सडक विस्तारमा ध्यानाकर्षण गराएका थिए । पछिल्लो समय हेटौंडा बजार क्षेत्रको सडक विस्तारको विषयमा सर्वोच्च अदालतमा परेको मुद्धाको पेशी सर्दा विस्तार कार्य प्रभावित बनेको छ । सडक विस्तारका लागि २०७८ मंसिरमा सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्दै कार्यालयले २०८० असार १० मा सडक सिमाको २५ मिटर खाली गर्न ३५ दिने सूचना जारी गरेको थियो । उक्त सूचनाको म्याद गत साउन १५ गते सकिएको थियो ।
१६ गतेबाट सडक विस्तार कार्य सूरु गर्ने कार्यालयको योजना भएपनि साउन ४ गते पुनः सर्वोच्चमा मुद्धा परेको थियो । उक्त मुद्धाको साउन ८ मा अल्पकालीन आदेश गर्दै तत्काल सडक विस्तार अघि नबढाउन भनेको थियो भने १६ गतेका लागि पेशी तोकी छलफलका लागि बोलाएको थियो । सडक विस्तारको विषयमा हाल सर्वोच्चमा ३०० भन्दा बढी रिट निवेदन परेको छ भने ति सबैमा अल्पकालीन आदेश जारी गरि छलफलका लागि बोलाइएको छ । गत १६ गतेका लागि तोकीएको पेश सर्वोच्चको हेर्न नभ्याइने सूचिमा परेपछि २२ गतेका लागि तोकीएको थियो ।
हालसम्म सर्वोच्चले हेटौंडा बजार क्षेत्रको सडक विस्तारको पेशी ४ पटक सरेको छ । २२ गतेको पेशी पनि हेर्न नभ्याइनेमा सूचिमा परेपछि २९ गतेका लागि आर्के पेशी तोकीएको थियो । २९ गते पनि पेशी हेर्न नभ्याइने सूचिमा परेपछि भदौ ५ गतेका लागि पुनः पेशी तोकीएको थियो । ५ गते पछि १२ गतेका लागि तोकीएको पेशी पनि हेर्नै नभ्याइने सूचिमा परेको छ । सर्वोच्चले भदौ २९ गतेका लागि पुनः र्को पेशी तोकेको छ ।