हेटौंडा, आर्थिक वर्ष २०७८/७९ मा १४ हजार ३ सय ६७ जनाले स्थायी लेखा नम्वर (प्यान) आन्तरिक राजश्व कार्यालय मकवानपुरबाट लिएका छन् । सरकारले नेपालमा व्यवसाय–रोजगारी गर्ने सबै व्यक्तिले अनिवार्य प्यान नम्बर लिनुपर्ने प्रावधान ल्याएको थियो ।
कार्यालयका सूचना अधिकारी सुमन बुढाथोकीका अनुसार गत आार्थिक वर्षको असार मसान्त सम्ममा प्यानमा दर्ता हुने व्यक्तिगत करदाताको संख्या ९ हजार ८ सय २३ जना रहेका छन् । यसैगरी व्यवसायिक स्थायी लेखा नम्वरतर्फ आयकरमा ३ हजार ९ सय ३ जना, मुल्य अभिवृद्धि करमा ४ सय ५६, अन्तशुल्कमा १ सय ४९ र विथ होली प्यानमा १ सय ३६ जनाले लिएका छन् । आन्तरिक राजश्व कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७७/२०७८ को तुलनामा आर्थिक वर्ष २०७८/०७९ मा ११० दशमलव ११ प्रतिशतले राजस्व संकलनमा वृद्धि गर्न सफल भएको बुढाथोकीले बताए ।
आर्थिक वर्ष ०७७/०७८ मा मकवानपुरमा करदाताको संख्या १३ हजार ४ सय २ जना रहेका छन् । करदातालाई करको सम्बन्धी जानकारी गराउको निम्ति कार्यालयले साविक पालुङ, टिष्टुङ, चित्लाङ, मार्खुमा घुम्ती शिविर सञ्चालन, करदाता शिक्षा लगायतका कार्यक्रम सञ्चलान गरेको बुढाथोकीले बताए । आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तब्यमा सरकारले ‘एक व्यक्ति एक स्थायी लेखा नम्बर’ को नीति लिएको थियो । यस नीति अनुसार नेपालमा काम गरिरहेका विदेशी नागरिकले समेत अनिवार्य स्थायी लेखा नम्बर लिनुपर्ने हुन्छ ।
८ सय जनाले लिए व्यक्तिगत प्यान
चालु आर्थिक वर्षको साउन महिनामा आन्तरिक राजश्व कार्यालय मकवानपुरबाट ८ सय जनाले व्यक्तिगत प्यान लिएको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७९/०८० को पहिलो महिनामा आयकरतर्फ ३ सय ५९ जना, मुअकरमा ४१ जना, अन्तशुल्कमा २२ जना र विथ होली प्यानमा २ जना करदाता दर्ता भएका छन् । साउन महिनामा मात्रै कार्यालयबाट स्थायी लेखा नम्वर (प्यान) १ हजार ३ सय १७ जनाले लिएका छन् । यसैगरी मकवानपुरमा प्यान लिनको करदाताको संख्या ९२ हजार ८ सय ९२ जना रहेका छन् ।