हेटौंडा, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एन्ड सोसियल साइन्सेस अन्तर्गत सामाजिक सेवा क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। जेसीआई हेटौंडा तथा लियो क्लब अफ हेटौंडा भुटनदेवी सेन्टेनियलको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो।
“रक्तदान जीवनदान” भन्ने सन्देशसहित आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि तथा स्थानीय समुदायका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन्। संकलित रगत नेपाल रेडक्रस सोसाइटीमार्फत आवश्यक परेका बिरामीहरूको उपचारमा प्रयोग गरिने जनाइएको छ।
कार्यक्रम क्याम्पसका प्रिन्सिपल पुरन बहादुर जोशीको जन्मदिनको अवसर पारेर आयोजना गरिएको थियो। जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै सञ्चालन गरिएको रक्तदान अभियान सहभागीहरूका लागि प्रेरणादायी बनेको बताइएको छ।
कार्यक्रममा जेसीआई हेटौंडाका अध्यक्ष सन्तोष पराजुली तथा लियो क्लब अफ हेटौंडा भुटनदेवी सेन्टेनियलका अध्यक्ष अभिलेख कठायतलगायतकाे उपस्थिति रहेको थियो।
आयोजकले कार्यक्रममा सहभागी रक्तदाता, स्वयंसेवक तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता समाजसेवामूलक कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ।







