हेटौंडा,नेपाल शिक्षक महासंघले आव्हान गरेको शिक्षा विधेयक विरुद्धको आन्दोलनमा मकवानपुरका शिक्षकहरू असोज ३ गतेदेखि काठमाडौँमा हुने आन्दोलनमा सहभागी हुने भएका छन् ।
आज शिक्षकहरुका विभिन्न पेशागत संगठनहरुले हेटौंडामा पत्रकार सम्मेलन गर्दै आफ्ना मागहरु पुरा गराउनका लागि दवाब दिन बिद्यालय बन्द गरेर काठमाण्डौं केन्द्रीत आन्दोलन गर्न लागिएको बताएका छन् । आफूहरूका माग सम्बोधन नभएसम्मका लागि विद्यालयमा पठनपाठन नहुने महासंघ मकवानपुरका अध्यक्ष जिधराज ढकालले जानकारी दिए ।
अहिले सरकारले संसदमा पेश गरेको शिक्षा विधेयक २०२८ सालको शिक्षा ऐनभन्दा पनि प्रतिगामी भएको शिक्षक संघका केन्द्रीय सदस्य रामकुमार अधिकारीले बताए । उनले शिक्षकलाई अहिलेसम्मका कुनै पनि सरकारले प्राथमिकतामा नराखेको भन्दै यो विधेयक पास भएमा सार्वजनिक शिक्षा ध्वस्त हुने चेतावनी दिए । यसअघि शिक्षक महासंघसँग भएको ५१ बुँदे सहमतिलार्इ बेवास्ता गरिएको छ भन्दै अधिकारीले ति मागलाई समेत ऐनले समेट्न नसक्नु भनेको राज्यको शिक्षक र शिक्षा क्षेत्रलाई हेर्ने दृष्टिकोण उजागर गरेको बताए ।
नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहालले ऐनको बुँदा नम्बर ७८ मा शिक्षकले कुनै पनि धर्ना, जुलुस, दवावमूलक कार्यक्रम गर्न नपाउने उल्लेख गरेकाले यो ऐन आएमा शिक्षकमाथि निरङ्कुशता लादिने बताए । पत्रकार सम्मेलनमा नेपाल शिक्षक संघका केन्द्रीय सदस्य रामकुमार अधिकारी, जिल्ला अध्यक्ष गणेशप्रसाद हुमागाईं, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहाल लगायतको उपस्थिति रहेको थियो ।