हेटौँडा, नवसर्जक साहित्य चौतारी नेपालका संस्थापक सदस्य स्वर्गीय प्रभास घिमिरेको स्मृतिमा स्थापना गरिएको ‘प्रभास घिमिरे स्मृति नवसर्जक सम्मान–२०८३’ बाट अनुपराज उप्रेती सम्मानित भएका छन् ।
नवसर्जक साहित्य चौतारी नेपाल केन्द्रीय समितिको आयोजनामा शनिबार हेटौँडामा आयोजित प्रभास घिमिरे स्मृति सभा तथा सम्मान समर्पण समारोहमा उप्रेतीलाई नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको हो । हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा र हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देलले संयुक्त रूपमा उप्रेतीलाई सम्मान प्रदान गरेका थिए ।
समितिका अध्यक्ष कृतिका लौडारीको अध्यक्षतामा भएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष डा. निमेष निखिल, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष संप्रस पौडेललगायतले स्वर्गीय घिमिरेको साहित्यिक योगदान र व्यक्तित्वबारे चर्चा गरेका थिए ।
वि.सं. २०८१ कात्तिक २१ गते सवारी दुर्घटनामा परी घिमिरेको निधन भएको थियो । बहुप्रतिभाशाली घिमिरेको स्मृतिलाई जीवन्त राख्ने उद्देश्यले नवसर्जक साहित्य चौतारी नेपालले गत वर्ष स्मृति ग्रन्थ प्रकाशन गरेको थियो । यस वर्षदेखि हरेक वर्ष कात्तिक २१ गते २५ वर्षमुनिका छन्द कविता तथा हास्यव्यङ्ग्य विधामा क्रियाशील नवसर्जकलाई सम्मान गर्ने कार्यक्रम सुरु गरिएको सम्मानका परिकल्पनाकार दीपक गौतमले जानकारी दिए ।
कार्यक्रमकी प्रमुख अतिथि हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले साहित्यिक संघसंस्थासँग सहकार्य गरेर साहित्य महोत्सव आयोजना गर्ने तयारी भइरहेको बताइन् । मानिस भौतिक रूपमा संसारबाट बिदा भए पनि उसका सिर्जनालाई जीवित राख्नुपर्नेमा जोड दिँदै उनले मकवानपुरका साहित्यिक संस्थाहरूले यस क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताइन् ।
त्यस्तै, हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देलले पद र जिम्मेवारी सधैँका लागि नहुने उल्लेख गर्दै जनप्रतिनिधिको कार्यकाल निश्चित समयको मात्र हुने बताए । आफ्नो कार्यकाल सकिएपछि पनि राजनीतिमै सक्रिय रहने र अन्य व्यवसाय सञ्चालन नगर्ने उनको भनाइ थियो ।
कार्यक्रममा स्वर्गीय प्रभास घिमिरेद्वारा रचित विभिन्न कविताहरू वाचन गरिएको थियो ।








