विश्व वातावरण दिवसको अवसरमा ‘भान्सा नै औषधालय’ सचेतना कार्यक्रम सम्पन्न

हेटौँडा, विश्व वातावरण दिवस २०८३ को अवसरमा “भान्सा नै औषधालय” सम्बन्धी सचेतनामूलक कार्यक्रम हेटौँडा उपमहानगरपालिका–४ मा सम्पन्न भएको छ। हेटौँडा उपमहानगरपालिका वडा नं। ४ को आयोजनामा तथा टोल विकास संस्था नगर समन्वय समिति, हेटौँडाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो।

ADVERTISEMENT

टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षता तथा वडा नं। ४ का अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा “भान्सा नै औषधालय” अभियानका प्रवर्द्धक तथा राष्ट्रिय प्रशिक्षक रोमलाल गिरीले सहजीकरण गर्नुभएको थियो। प्रशिक्षक गिरीले दैनिक जीवनमा प्रयोग हुने खाद्य सामग्री, जडीबुटी तथा प्राकृतिक खानपानको महत्वबारे जानकारी गराउँदै आधुनिक जीवनशैलीका कारण बढ्दै गइरहेका नसर्ने रोग नियन्त्रणका लागि स्वस्थ खानपान, स्थानीय उत्पादनको प्रयोग र प्राकृतिक जीवनशैली अपनाउन आवश्यक रहेको बताउनुभयो। उहाँले बेसार, अदुवा, लसुन, तुलसी, मेथीलगायत भान्सामा नियमित प्रयोग हुने सामग्रीहरू औषधीय गुणले भरिपूर्ण रहेको उल्लेख गर्दै “भान्सा नै पहिलो औषधालय हो” भन्ने अवधारणालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष सिग्देलले स्वस्थ नागरिक निर्माणका लागि यस्ता जनचेतनामूलक कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। वातावरण संरक्षण र नागरिक स्वास्थ्य एकअर्कासँग प्रत्यक्ष रूपमा सम्बन्धित विषय भएको उल्लेख गर्दै उहाँले स्वस्थ खानपान, सरसफाइ तथा हरियाली प्रवर्द्धनलाई स्थानीय तहले प्राथमिकताका साथ अघि बढाइरहेको जानकारी दिनुभयो। यस्ता कार्यक्रमले समुदायमा सकारात्मक व्यवहार परिवर्तन ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले सहभागीहरूलाई सिकेका विषय व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो।
कार्यक्रमका सभाध्यक्ष अधिकारीले विश्व वातावरण दिवसलाई औपचारिकतामा सीमित नराखी व्यवहारिक परिवर्तनसँग जोड्न आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले वातावरण संरक्षण, सरसफाइ, हरियाली प्रवर्द्धन तथा स्वस्थ जीवनशैली निर्माणमा टोल विकास संस्थाहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै समुदायस्तरमा यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो। “स्वस्थ भान्सा, स्वस्थ परिवार र स्वस्थ समाज निर्माणको आधार हो,” उहाँले भन्नुभयो।

ADVERTISEMENT

कार्यक्रममा हेटौँडा उपमहानगरपालिका–४ सहित नगरका विभिन्न वडाका टोल विकास संस्थाका पदाधिकारी, सामाजिक अभियन्ता तथा स्थानीयवासी गरी ४०० भन्दा बढीको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले कार्यक्रमबाट प्राप्त ज्ञान र अनुभवलाई दैनिक जीवनमा व्यवहारिक रूपमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। आयोजकका अनुसार विश्व वातावरण दिवस २०८३ को अवसरमा वातावरण संरक्षण, सरसफाइ तथा स्वस्थ जीवनशैली प्रवर्द्धनसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू सप्ताहव्यापी रूपमा सञ्चालन भइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *