हेटौंडा, हेटौंडामा रहेको शहिद आकास मेमोरियल क्याम्पस सञ्चालनमा आउने भएको छ । शहिद एकनाथ सुवेदी (आकास) स्मृति प्रतिष्ठानले टेक्निकल बिषयहरु पढाउने उद्देश्यले हेटौंडा ५ स्थित रिलायन्स स्कुलको प्राङ्गणमा उक्त क्याम्सप सञ्चालनमा आउन लागेको मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
पुर्वाञ्चल बिश्वबिद्यालयबाट असोज ८ गते सम्बन्धन प्राप्त गरि यहि शैक्षिक सत्रबाट स्नातक तहको बिआइटी (ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी) तथा बिबिए (ब्याचलर अफ बिजनेस एड्मिनिस्ट्रेसन) गरि दुइवटा बिषयमा पठनपाठन शुरु गरिन लागेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

टेक्निकल बिषय पढ्नका लागि बिदेश जाने लहर बढेकोले सो क्रमलाई कमी ल्याउने उद्देश्यले क्याम्पसले भविष्यमा समेत अन्य टेक्निकल बिषयमा अध्यापन गराइने लक्ष्य रहेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष विजय गौतमले बताए ।
क्याम्पसले चार बर्षे बिआइटी कोर्सका लागि ५ लाख ३५ हजार रुपैयाँ र चार बर्षे बिबिए कोर्सका लागि ४ लाख २५ हजार रुपैयाँ शुल्क तोकिएको छ । यस्तै क्याम्पसले लक्ष्नित वर्गका १० प्रतिशत बिद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था मिलाएको जानकारी दिएको छ । मंगलबार बसेको क्याम्पस बोर्ड बैठक मार्फत नै शुभारम्भ गरिसकिएकोले भर्ना लिने काम शुरु गरिने प्रतिष्ठानले जनाएको छ ।






